काठमाडौँ, १३ कात्तिक । आठौँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता यही कात्तिक २७ गतेदेखि हुने भएको छ ।
नेपाल ब्याडमिन्टन सङ्घद्वारा मंगलबार काठमाडाैंमा आयोजित पत्रकार सम्मेलनमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्डहलमा हुने उक्त प्रतियोगितामा पुरुष र महिला एकल तथा युगल, यु–१७ छात्रछात्रा एकल तथा भेट्रान्स (४५ वर्षमाथि) जोडी गरी सात विधामा प्रतिस्पर्धा हुने सङ्घका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिए।
नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको सम्झनामा नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा २०६८ सालदेखि सो प्रतियोगिता हुँदै आएको छ । करिब १२ लाखको लागतमा सञ्चालन हुन लागेको सो प्रतियोगितामा पुरुष/महिला एकलमा शीर्ष तीन स्थान प्राप्त गर्नेले मेडल, ट्रफी, प्रमाणपत्रका साथै ५० हजार, २५ हजार र १० हजार, युगलतर्फ २० हजार, १० हजार र पाँच हजार पुरस्कार प्राप्त गर्ने छन् ।
यस्तै यु–१७ छात्र तथा छात्रातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार, सात हजार र पाँच/पाँच हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् । भेट्रान्सतर्फ विजयी शीर्ष तीन स्थान प्राप्त गर्नेले मेडल, ट्रफी तथा प्रमाणपत्रका साथै खेलकूद सामाग्री प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा करिब २०० खेलाडी सहभागि हुने आयोजक संस्थाले जनाएको छ ।
The post पुष्पलाल स्मृति ब्याडमिन्टन कात्तिक अन्तिम साता appeared first on Sajha Post.