एजेन्सी, १६ फागुन । लन्डन क्लब चेल्सीले चिर परिचित प्रतिद्वन्द्वी टोटेनहम हट्सपरलाई २-० ले पराजित गरेको छ । प्रिमियर लिग अन्तर्गत बुधबार भएको खेलमा लिभरपुल र आर्सनलले पनि शानदार जित दर्ता गरे ।
पहिलो हाफमा चेल्सी र टोटेनहम बराबरीमा रोकिए पनि मध्यान्तरपछि चेल्सीले दबाव बढायो । खेलको ५७ औं मिनेटमा कप्तान सेजार एज्पिलिक्वेटाको पासलाई पेड्रो रोड्रिग्वेजले गोलमा रुपान्तरण गर्दै चेल्सीलाई अग्रता दिलाए । खेल सकिन ६ मिनेट समय बाँकी रहँदा चेल्सीले टोटेनहमबाट आत्मघाती गोल उपहार पाएपछि अग्रता दोब्बर बनायो । टोटेनहमका काइरान ट्रिपिएरले दिएको ब्याकपासबलमा गोलरक्षक ह्युगो लोरिसले समाउन नसक्दा आत्मघाती गोल भएको हो ।
प्रिमियर लिग अन्तर्गत बुधबार नै भएको अर्को खेलमा लिभरपुलले वाटफर्डलाई ५-० को शानदार जित निकाल्यो । अर्को खेलमा आर्सनलले बर्नमाउथलाई घरेलु मैदानमा ५-१ ले हरायो ।
पछिल्लो अंक तालिकाअनुसार लिभरपुल २८ खेल खेल्दा ६९ अंकसहित शीर्षस्थानमा रहेको छ भने म्यानचेस्टर सिटी २८ खेल ६८ अंकसहित दोस्रो स्थानमा छ । टोटेनहम हट्सपर २८ खेलमा ६० अंकसहित तेस्रो स्थानमा छ भने आर्सनल २८ खेलमा ५६ अंकसहित चौथो स्थानमा छ ।
त्यसैगरी म्यानचेस्टर युनाइटेड २८ खेलमा ५५ अंकसहित पाँचौं स्थानमा छ भने चेल्सी २७ खेलमा ५३ अंकसहित अंकतालिकामा पुछारमा रहेको छ ।
The post प्रिमियर लिगः चेल्सीको शिकार बन्यो टोटेनहम, आर्सनल र लिभरपुल पनि विजयी appeared first on Sajha Post.