काठमाडौं, १७ चैत । बंगलादेशमा जारी एसीसी इमर्जिङ कप क्रिकेटअन्तर्गत हङकङले नेपालसामू २ सय १५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित पचास ओभरमा १० सबै विकेट गुमाउँदै २१४ रन बनायो । हङकङका लागि कप्तान अंशुमन राथ र क्यामरन म्याकुसेनले क्रमश ५१ र ४३ रन जोडे । त्यस्तै वाकस खानले ३०, साहिद वासिफले २२, इशान खानले १८ तथा वजिद शाहले १६ रन बनाए ।
बलिङतर्फ नेपालका लागि अभिनाश कर्णले सर्वाधिक तीन विकेट लिए । उनले पाँच ओभर बलिङ गर्दै २९ रन खर्चे । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल, भुवन कार्की र सुशन भारीले समान दुई–दुई विकेट लिए । मल्लले सात ओभरमा २५ रन दिए । कार्कीले १० ओभर बलिङ गर्दै एक मेडन राखेर ३७ रन खर्चे । यस्तै भारीले १० ओभर बलिङ गर्दै ५३ रन दिए भने सन्दिप लामिछाने एक विकेट लिए ।
नेपाल र हङकङ समूह बी का दुवै खेल हारेर समूह चरणबाटै बाहिरिसकेका छन् । नेपालले पहिलो खेल पाकिस्तानसँग ६ विकेटले तथा दोस्रो खेल बङ्गलादेशसँग ८३ रनको हारेको थियो । यस्तै हङकङ पहिलो खेलमा बङ्गलादेशसँग ८ विकेट तथा दोस्रो खेलमा पाकिस्तानसँग दुई सय ४८ रनले पराजित भएको थियो ।
The post हङकङद्वारा नेपाललाई २१५ रनको लक्ष्य प्रस्तुत appeared first on Sajha Post.