काठमाडौं, ३ फागुन । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को निर्णायक खेलमा क्यनाडालाई १ विकेटले पराजित गर्दै नेपाल एकदिवसीय विश्वकप छनोट र डिभिजन–१ मा बढुवा भएको छ । नेपाली क्रिकेटको यो सफलताको सपना पूरा गर्न चमत्कारिक योगदान गर्न सफल भए बलर करण केसी । निर्णायक खेलमा नेपालले सनसनीपूर्ण जित निकाल्दा दशौं नम्बरका ब्याट्सम्यान करण केसीले नटआउट ४२ रन जोडेका थिए।
खराब सुरुवात गरेको नेपालको जितमा ‘हिरोको रोल अन्तिममा आउँछ’ भनेजस्तै चमत्कारिक साझेदारी गरे करण केसी र सन्दीप लामिछानेले । यी दुवै बलर हुन् । यो विजयसँगै नेपाली क्रिकेट टिमको सर्वत्र प्रशंसा भइरहेको छ ।
विजयसँगै नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले ट्वीट गर्दै लेखेका छन्, ”इमान्दारीता, कडा मिहिनेत र लगनशीलता पछि चमत्कार भएको छ। सबै फ्यानलाई धन्यवाद ।’ उनले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिललाई अन्तर्वार्ता दिँदै करण र सन्दीपले अन्तिम विकेटका लागि गरेको ५१ रनको साझेदारीबारे बोल्न आफूसँग शब्द नै नरहेको बताए । कप्तान खड्काले जितका लागि घरेलु क्रिकेट समर्थक प्रेरणाको श्रोत भएको समेत बताए । उनले अगाडि थपे, आगामी महिना जिम्बावेमा सकारात्मक सोचले खेल्ने छौं ।’
त्यसैगरी नेपाली क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले सबैलाई बधाई दिँदै सामाजिक सञ्जालमा लेखेका छन्,’यो नेपाली क्रिकेटका लागि ठूलो दिन हो, सबै समर्थकहरुलाई धन्यवाद। नेपाली क्रिकेटलाई माया गरिरहनु होला ।’
त्यसैगरी नेपालको विजयमा नायक साबित भएका करण केसीले ट्विटरमा लेखेका छन्,’खेलमा कति रोमाञ्चक भए त्यो व्यक्त गर्न सक्दिन। अब हाम्रो सपना पूरा भएको छ। समर्थन र साथ दिने सबैलाई धन्यवाद । यो कठिन यात्रा पक्कै दियो तर, हामी सबै मिलेर जित निकाल्न सफल भयौं ।’
The post करणबारे पारसको प्रतिक्रिया- करण र सन्दिपको साझेदारीबारे बोल्ने शब्द नै छैन appeared first on Sajha Post.