Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नेपाललाई ओलम्पिक अनुभवका लागि

$
0
0

olympic_logo_30088काठमाडौँ, १३ साउन । ब्राजिललाई फुटबलको पर्यायवाची मानिन्छ । खेलको राजा मानिने फुटबलको विश्वकप सर्वाधिक पाँचपटक जितेको देश ब्राजिललाई धेरैले यही परिचयबाट चिन्नु स्वाभाविकै हो जहाँका हरेक युवाको सपना फुटबल स्टार बन्ने हुन्छ र देशका लागि विश्वकप जित्ने हुन्छ ।

तर ब्राजिल यो वर्ष भने खाली फुटबलको देशका रुपमा चिनिने पक्षमा छैन । कारण यो छ, फुटबलको देश ब्राजिलले आगामी अगस्त ५ देखि २१ तारिखसम्म गृष्मकालीन ओलम्पिकको ३१ औँ संस्करणको आयोजना गर्दैछ जहाँ विश्वभरका २०७ राष्ट्रका दस हजारभन्दा बढी खेलाडी प्रतिस्पर्धाका लागि आउनेछन् । त्यहाँ फुटबलसहित २८ खेलअन्तर्गत ३०६ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । सो प्रतिस्पर्धाका लागि भिड्न नेपालले सात खेलाडी पाँच खेलका लागि तयार पारेको छ ।

सोअनुसार एथलेटिक्सको पुरुष पाँच हजार मिटर दौडमा हरिकुमार रिमाल र महिला एक हजार ५०० मिटर दौडमा सरस्वती भट्टराई, पौडीको पुरुष १०० मिटर फ्रिस्टायलमा शिरिष गुरुङ र महिला १०० ब्याकस्ट्रोकमा गौरिका सिंहले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

त्यस्तै, जुडोको महिला ६३ केजीमा फुपुल्हामु खत्री, तेक्वान्दोको महिला ६७ केजीमाथि निशा रावल तथा आर्चरीको पुरुष व्यक्तिगत रिकर्भ ७० मिटर दूरीमा जितबहादुर मोक्तानले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोली दुई चरणमा ब्राजिल प्रस्थान गर्दैछ । आ–आफ्नो खेल तालिकालाई मध्यनजर गर्दै जुलाई ३१ र अगस्त ५ मा नेपाली खेलाडी त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

सन् १९६४ मा जापानमा भएको ओलम्पिकदेखि सहभागिता जनाइरहेको नेपाली खेलाडीको सहभागिता खाली अनुभवमा सीमित हुँदै आएको छ । यसपटक पनि खेलाडी र प्रशिक्षकको मनस्थिति देख्दा त्यस्तै लाग्छ । अधिकांश खेलाडीले आफूहरुले ओलम्पिक खेल्न पाउनु नै ठूलो कुरा भएको बताए । उनीहरुले अहिल्यै नेपालले पदककै आशा गर्नु हतारो हुने सङ्केत गरे ।

हङ्गेरीमा गएर करिब दुई महिना प्रशिक्षण लिएकी फुपूल्हामु खत्रीको भनाइ पनि यस्तै थियो । उनले भनिन्, ‘हाम्रा लागि ओलम्पिकजस्तो ठूलो प्रतियोगिता खेल्नु नै पदक जिते सरह हो, त्यसैले पदक नै जित्छु भनिहाल्नु अलि हतारो हुन्छ, मैले राम्रो अभ्यास गरेको छु, राम्रो प्रदर्शन गर्नेछु ।’

उनकी प्रशिक्षक देवु थापाको भनाइ पनि मिल्दोजुल्दो छ । उनले भनिन्, ‘ओलम्पिकमा उच्च स्तरमा टक्कर हुन्छ, पदक नै जित्ने सोचेको छैन, तर जित्दै जितिँदैन भन्ने कुरा पनि होइन ।’ ओलम्पिकमा १४ औं पटक सहभागिता जनाउने तयारीमा रहेको नेपालका लागि छनोट भएका सबै सात खेलाडी कोटा प्रणालीबाट छनोट भएका हुन् जसमध्ये जुडो, तेक्वान्दो र आर्चरीका खेलाडीले ‘वाइल्ड कार्ड’ पाएर छनोट भएका हुन् भने पौडी र एथलेटिक्सका ‘युनिभर्सियालिटी प्लेसेस युपिएस प्रणालीमार्फत छनोट भएका हुन् ।

ओलम्पिकमा सहभागिता जनाउने नेपाली खेलाडीको सङ्ख्या यसपटक समेत गरी ८७ पुगिसकेको छ । तर यीमध्ये दुईजना तेक्वान्दोका दीपक विष्ट र सङ्गीना बैद्य मात्र प्रतिस्पर्धामार्फत ओलम्पिकमा छनोट भएका हुन् । सन् २००४ मा ग्रिसको एथेन्समा भएको ओलम्पिकमा छनोट हुन सफल तीनै खेलाडी सङ्गीनाको जिम्मेवारी अहिले प्रशिक्षकका रुपमा रहेको छ । तर उनको पनि यही तर्क छ हाम्रो स्तरको देशले अहिले नै ओलम्पिकमा पदक नै जित्छु भनेर सोचिहाल्ने बेला भएको छैन ।

उनले भनिन्, ‘ओलम्पिक हाम्रा लागि अनुभवका लागि हो । बरु अब त्यहाँको अनुभवको उपयोग गर्दै एसियाली खेलकुद र साग दक्षिण एसियाली खेलकुद मा स्वर्ण पदक जित्ने हाम्रो लक्ष्य हुनुपर्छ ।’ रासस/दीपेन्द्र सापकोटा

The post नेपाललाई ओलम्पिक अनुभवका लागि appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles