Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

हारेर पनि जितेकी गौरिका: जसलाई विश्वले चिन्यो

$
0
0

काठमाडौं, २५ साउन । आइतबार राति ब्राजिलको रियो द जेनेरियोको एउटा पौडी पोखरीमा एउटा देश र खेलाडीको नाम बारम्बार लिइयो । खेलका क्रममा उद्घोषकले नाम लिएको त्यो देशको नाम नेपाल र ती खेलाडीको नाम थियो गौरिका सिंह ।

त्यसरी नाम लिनाको कारण उनले स्वर्ण पदक जितेकाले पक्कै होइन । सय मि ब्याकस्ट्रोकको उक्त स्पर्धामा नेपालकी गौरिकासँगै अन्य ३४ देशका खेलाडीले भाग लिएका थिए, तर त्यहाँ उनी ३१औँ स्थानमा रहन पुगिन् । पहिलो चरणबाटै बाहिरिएकी उनीभन्दा तल सामाओ, कोसोभो र केन्याका खेलाडी मात्र रहेका थिए ।

gaurikaवास्तवमा त्यहाँ गौरिकाको नाम बारम्बार आउनाको कारण यस्तो थियो, उनी प्रतियोगिताकै सबभन्दा कान्छी खेलाडी थिइन् । दुई सय छ देशका ११ हजारभन्दा बढी खेलाडी सम्मिलित ‘रियो ओलम्पिक’मा सबभन्दा कम उमेरकी खेलाडी भएपछि उनको चर्चा चुलिएको छ । अहिले उनी विश्व चर्चित सञ्चारमाध्यमको खोजीको विषय हुन पुगेकी छन् ।

भर्खर १३ वर्षीया गौरिकालाई गत बिहीबार फ्रान्सेली समाचार संस्था एएफपीले लामो कुराकानी गरेको थियो । सो क्रममा उनले भनिन्, ‘मैले कुनै दिन ओलम्पिक खेल्दैछु भनेर सोचेकी भने थिइन । मैले धेरै सानो उमेरदेखि पौडी खेल्न सुरु गरेकी थिएँ तर यसले मलाई यहाँसम्म पुर्‍याउनेछ भनेर विश्वास भने थिएन ।’ कान्छी खेलाडी हुनाको राजबारे उनको तर्क यस्तो छ, ‘मैले यसबारे खासै सोचेकी भने छैन । अरु सबै खेलाडी जस्तै म यहाँ खेल्न आएकी हुँ । त्यसैले अरुभन्दा म धेरै फरक छैन ।’ यीबाहेक ‘द गार्डियन’, ‘एपी’, ‘रोयटर्स’लगायत प्रमुख सञ्चारमाध्यमले समेत उनलाई प्राथमिकतामा राखेर समाचार बनाएका छन् ।

आइतबार प्रतिस्पर्धाकै क्रममा गौरिकाले आफ्नो ‘स्विमसुट’ च्यातिएका कारण पौडन अप्ठ्यारो परेको बताएकी थिइन् । यस कुरालाई ब्राजिलसँगै विश्वभरका सञ्चारमाध्यमले प्राथमिकताका साथ ‘हाइलाइट्स’ गरे ।

गौरिका दुई वर्षको हुँदादेखि नै आफ्ना बुबासँगै बेलायतको लन्डन बस्न थालेकी थिइन् । त्यहाँको बर्नेट कप्टहल क्लबबाट खेल्दै आएकी उनी आफ्नो उमेर समूहमा बेलायतका २० पौडीबाजमा पर्छिन् । गौरिका चार वर्षदेखि लन्डनमै रहेर ओलम्पिकको तयारीमा व्यस्त थिइन् ।

करिब छ महिनाअघि भारतमा सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुद (साग)मा एक रजत र तीन कास्य जितेकी उनले नेपाली पौडीमा तीन पल्ट राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

जारी ओलम्पिकबाट बाहिरिए पनि उनले ‘हिट वान’ चरणमा पहिलो स्थान हासिल गरिन् । उक्त एक सय मिटर ब्याकस्ट्रोक उनले १ मिनेट ८ दशमलव ४५ सेकेन्डमा पूरा गरेकी थिइन् । उनी आफ्नो राष्ट्रिय कीर्तिमान तोड्न १ दशमलव १४ सेकेन्डले चुकिन् । यो अपेक्षा विपरीत भए पनि नेपाली ओलम्पिकका लागि भने कीर्तिमान नै हो । हालसम्म नेपाली पुरुष पौडीबाजले समेत यो स्पर्धा १ मिनेट १२ सेकेन्डमा मात्र पूरा गर्न सकेका छन् ।

यता घरेलु देश नेपालमा झन् गौरिकाको चर्चा चुलिएको छ । नेता, अभिनेता, खेलाडी, व्यवसायी लगायत सबै क्षेत्रका मानिसले उनलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् । उनीहरुको सार यस्तो छ, ‘गौरिकाले हारेर पनि जितेकी छिन् ।’ दीपेन्द्र सापकोटा/रासस

The post हारेर पनि जितेकी गौरिका: जसलाई विश्वले चिन्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles