एजेन्सी, २४ वैशाख । ला लिगा च्याम्पियनमा रियल मड्रिडले बार्सिलोनासँग बराबरी खेलेको छ । यो सिजनको अन्तिम एल क्लासिको अर्थात् रियल मड्रिड र बार्सिलोनाबीचको खेल आइतबार राति बराबरीमा टुंगिएको हो ।
बराबरीमा रोकिए पनि बार्सिलोना नयाँ कीर्तिमानको प्रतिक्षामा रहेको छ । स्पेनिस ला लिगाको उपाधि विजेता बार्सिलोना अब लिगका बाँकी तीन खेलमा अपराजित रहे पूरै सिजन अपराजित रहने नयाँ कीर्तिमान बनाउने छ ।
बार्सिलोनाविरुद्ध जित निकालेर हारको बदला लिन नसकेपनि रियल मड्रिड पराजयबाट भने जोगियो । गत डिसेम्बरमा एल क्लासिकोमा बार्सिलोनासँग रियल मड्रिड पराजित भएको थियो । क्याम्प नाउ आफ्नै मैदान भए पनि बार्सिलोना १० खेलाडीमा सिमित भएर मड्रिडसँग भिड्यो । बार्सिलोनाले रियल मड्रिडलाई २–२ को बराबरीमा रोकेको हो ।
पहिलो हाफको इन्जुरी समयमा बार्सिलोनाका सर्गी रोबर्टो रातो कार्ड पाएर मैदान बाहिरिएपछि दोस्रो हाफको पुरै ४५ मिनेट बार्सिलोना १० खेलाडीमा सिमित भयो । मड्रिडका डिफेन्डर मोर्सेलोलाई झापड हानेपछि रेफ्रीले रोबर्टोलाई रातो कार्ड दिएका हुन् ।
बार्सिलोनाले खेलको १०औं मिनेटदेखि नै लुईस सुवारेजको गोलका कारण अग्रता लियो । तर, मड्रिडले चार मिनेटपछि नै बार्सिलोनाविरुद्ध गोल गर्दै खेललाई बराबरीमा पुर्यायो । क्रिष्टियानो रोनाल्डोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् ।
१० खेलाडीमा सीमित भए पनि खेलको ५२औं मिनेटमा बार्सिलोनाका लागि मेसीले गोल गर्दै टिमलाई पुनः अग्रता दिलाए । तर, ७२ मिनेटमा ग्यारेथ बेलले रियल मड्रिडका लागि बराबरी गोल फर्काए । उनको यहि गोल नै मड्रिडको पराजय रोक्न काफी भयो । घाइते भएर दोस्रो हाफपछि खेल्न नसकेका रोनाल्डको अभाव मड्रिडले दोस्रो हाफभरी गर्यो । गोल गर्न लाग्दा गोली गाँठो बांगिएपछि रोनाल्डो मैदान बाहिर बसे भने उनको स्थानमा एसेन्सिओ मैदानमा उत्रिए ।
लिगका ३५ खेलमा अविराम जित निकालिरहेको बार्सिलोनाको लागि बराबरी नै जित सरह हो । बार्सिलोना रियलभन्दा अझै १५ अंकले अगाडि छ ।
च्याम्पियन्स लिगको फाइनलमा पुगेर रियल पछिल्लो चार एल क्लासिको जित्न असफल रहँदै आएको छ । बार्सिलोनासँग पराजय रियलका लागि भने पराजय बराबर भएको छ ।
The post एल क्लासिको : रियल मड्रिड र बार्सिलोना दुई–दुई गोलको बराबरीमा appeared first on Sajha Post.