Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

विश्वकप फुटबलः पोर्चुगलले गर्‍यो टोली घोषणा, रोनाल्डो बिना नै खेल तयारी

$
0
0


लिस्बन, ५ जेठ । रुसमा आयोजना हुने २१औं विश्वकप फुटबल प्रतियोगिताका लागि पोर्चुगलले टोली घोषणा गरेको छ । शुक्रबार घोषणा गरिएको २३ सदस्यीय प्रारम्भिक टोलीमा मुख्यतः युरोकप खेल्ने खेलाडीहरुले नै स्थान पाएका छन् ।

प्रशिक्षक फर्नान्डो सान्तोषले घोषणा गरेको प्रारम्भिक टोलीमा सन् २०१६ मा पोर्चुगलले युरोकप जित्दा टोलीमा रहेका १३ जना खेलाडी परेका छन् । यसअघि फाइनल खेल्ने प्रारम्भिक टोलीका ११ खेलाडीमध्ये नानी र रेनाटो सान्चेज छुटेका छन् । रिकार्डो कार्भाल्हो, आन्द्रे गोमेज र इडर पनि अभागी ठहरिए, जसले यसपटक विश्वकपका लागि स्थान पाएनन् । युरोकपमा फ्रान्सविरुद्ध फाइनल खेल्न प्रारम्भमै मैदानमा ओर्लिएका नौजना खेलाडीले भने विश्वकपका लागि घोषित टोलीमा स्थान पाएका छन् ।

विश्वकपका लागि प्रारम्भिक टोलीको घोषणा गर्दै प्रशिक्षक सान्तोषले युरोकप टोेलीमा रहेका सबै खेलाडीलाई समेट्न नसकिएकोमा निकै दुःख व्यक्त गरेका छन् । त्यसो त आन्द्रे गोमेजमात्रै होइन, बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने नेल्सन सेमेडो र रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्ने फाबियो कोन्ट्राओ पनि पोर्चुगलको प्रारम्भिक टोलीमा अटेनन् । कोन्ट्राओको भने आफ्नै चाहनाले टोलीमा सहभागी नभएका हुन् ।

आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिडको तर्फबाट च्याम्पियन्स लिगको फाइनल खेल्ने तयारीमा व्यस्त भएपछि पोर्चुगलले तत्काल विश्वकपको तयारी उनको अनुपस्थितिमा नै अगाडि बढाउने भएको छ ।

आगामी विश्वकपअघि पोर्चुगलले मे २८ मा ट्युनिसिया, जुन २ मा बेल्जियम र जुन ७ मा अल्जेरियासँग गरी तीन राष्ट्रसँग अभ्यास खेल खेल्ने कार्यक्रम छ । विश्वकपमा समूह ‘बी’मा परेको पोर्चुगलसँग
विश्वकपको पूर्वविजेता स्पेन, मोरक्को र इरान पनि छन् । उसले विश्वकपमा आफ्नो पहिलो खेल जुन १५ मा सोचीमा बलियो प्रतिद्वन्द्वी स्पेनसँग खेल्नुपर्नेछ ।

आगामी जुन १४ देखि जुलाई १५ सम्म रुसका विभिन्न ११ सहरका १२ वटा रंगशालामा खेलिँदैछ यसपटकको विश्वकप । विश्वकपका लागि घोषित पोर्चुगलको प्रारम्भिक टोलीमा गोलरक्षकको रूपमा एन्थोनी लोपेज (लियोन), बेटो (गोटेप) र रुई प्याट्रिसियो (स्पोर्टिङ लिस्बन) रहेका छन् । डिफेन्डरमा ब्रुनो आल्भेस (रेन्जर्स), सेड्रिक सोरेस (साउथह्याम्पटन), जोसे फोन्ट (डालियन यिफाङ), मारियो रुई (नापोली), पेपे (बेसिकटस), राफेल ग्वेरेइरो (बोरुसिया डर्टमन्ड), रिकार्डो पेरेइरा (पोर्टो) र रुबेन डियास (बेनफिका) रहेका छन् ।

यसैगरी मिडफिल्डरमा एड्रिन सिल्भा (लिसेस्टर), ब्रुनो फर्नान्डेस (स्पोर्टिङ लिस्बन), जो मारियो (वेस्ट ह्याम), जो मोउटिन्हो (मोनाको), म्यानुएल फर्नान्डेस (लोकोमोतिभ) र विलियम कार्भाल्हो (स्पोर्टिङ लिस्बन) रहेका छन् । स्ट्राइकरको भूमिकामा भने आन्द्रे सिल्भा (एसी मिलान), बेर्नार्डो सिल्भा (म्यानचेस्टर सिटी), क्रिस्टियानो रोनाल्डो (रियल म्याड्रिड), गेल्सन मार्टिन्स (स्पोर्टिङ लिस्बन), गोन्कालो ग्वेडेस (भ्यालेन्सिया) र रिकार्डो क्वारेस्मा (बेसिकटस) रहेका छन् । -एजेन्सीहरुको सहयोगमा

The post विश्वकप फुटबलः पोर्चुगलले गर्‍यो टोली घोषणा, रोनाल्डो बिना नै खेल तयारी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles