सेन्ट पिटर्सबर्ग, २ असार । फिफा वर्ल्डकपको क्रममा रुसी सरकारले त्यहाँको सञ्चारमाध्यमलाई ५० दिनसम्म अपराधसँग जोडिएका समाचार प्रसारण तथा प्रकाशन नगर्न आदेश दिएको छ । आन्तरिक मन्त्रालयका सञ्चार माध्यम हेर्ने विभागले भनेको छ- प्रहरीले कुनै पनि अपराधसँग जोडिएका घटनाबारे लिएको कदमबारे २५ जुलाईसम्म मिडियालाई नदिनू । उक्त विभागले केवल सकरात्मक मात्र खबर वा सूचना मात्रै सार्वजनिक गर्न भनेको छ ।
कतिपयले रुसको यो कदमलाई राष्ट्रपति भ्लादिमिर पुटिनले रुस अपराधमुक्त छ भनेर सन्देश दिन खोजिएको प्रयासको रुपमा लिएका छन् ।
रुसी सञ्चारमाध्यमहरुका अनुसार, ६ जुनपछि कुनै पनि अपराधीलाई समात्ने र मुद्दा मामिला मिलाउन भएका सूचना सार्वजनिक भएको छैन । प्रशासनलाई समेत यस्ता खबर मिडियालाई नदिन सचेत गराइएको छ ।
कतिपयले रुसमा आतंकवादी हमला हुनसक्ने भन्दै सेन्ट पिटर्सबर्गको रंगशाला वरिपरि मिसाइल लञ्चर र एन्टी ड्रोन ज्यामर लगाइएको छ । पछिल्लो वर्ष यही इलाकामा विष्फोट गराइएको थियो । विश्वकपको क्रममा सुरक्षा व्यवस्था मजबुत बनाउन युक्रेनदेखिको सबै समुद्री भागमा अतिरिक्त युद्धपोत र सेनाको विमान तैनाथ गरिएको छ ।
खेल खेलाइने शहरहरुमा सुरक्षाको लागि वरिपरिका इलाकामा प्रहरी जवानहरुलाई खटाइएको छ । भोल्गोग्राद रंगशालामा सोमबार बेलायत र ट्यूनिशियाबीच खेल हुँदैछ । यसकारण पनि उक्त इलाकामा सुरक्षा अवस्था कडा बनाइएको छ । प्रहरीले आसपासका क्षेत्रमा १३१ नयाँ सिसिटिभी लगाएको छ । प्रहरीहरु १४ घन्टासम्म सुरक्षा दिइरहेका छन् । यो शहरमा २०१४ को ओलम्पिकभन्दा पहिला आत्मघाती हमला भइसकेको छ । त्यतिबेला ३४ मानिस मारिएका थिए ।
The post विश्वकपः रुसमा सञ्चारमाध्यमलाई अपराधका खबर नलेख्न आदेश appeared first on Sajha Post.