एजेन्सी, ८ असार । २०१८ फिफा विश्वकपमा शुक्रबार भएको खेलमा कोस्टारिकाविरुद्ध ब्राजिलले रोमाञ्चक जित निकालेको छ । शुक्रबार भएको समूह ‘ई’को खेलमा निर्धारित ९० मिनेटभित्र दुवै टिमबाट गोल हुन नसके पनि थप समयमा ब्राजिलले कोस्टारिकाविरुद्ध २-० को जित निकालेको हो । ब्राजिलको जितका लागि थप समयमा फिलिप काउटिन्हो र नेयमारले इन्जुरी टाइममा एक/एक गोल गरे । ९१ मिनेटमा काउटिन्होले अग्रता दिलाएका थिए भने ९७औं मिनेटमा नेयमारले दोस्रो गोल गरेका हुन् ।
कोस्टारिकाविरुद्ध आक्रामक खेलको ब्राजिलले ७८ प्रतिशत समय बल आफ्नो कब्जामा राखेको थियो । कोस्टारिकाले तीन पटक मात्र ब्राजिलको पोस्टमा प्रहार गर्दा ब्राजिलले भने २२ वटा प्रहारहरु गरेको थियो ।
चर्चित स्ट्राइकर नेयमारले ६ प्रहार गरे भने अन्तिममा एक प्रहारलाई मात्र गोलमा रुपान्तरण गर्न सके । जितसँगै ब्राजिलले अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ । ब्राजिलले २ खेलबाट ४ अंक जोडेको छ । अब ब्राजिलले समूह चरणको अन्तिम खेलमा सर्वियासँग प्रतिस्पर्धा गर्नेछ।
ब्राजिलसँगको यो पराजयसँगै कोस्टारिकाको भने समूह चरणबाट बाहिरिने सम्भावना बलियो भएको छ ।
The post कोस्टारिकाबिरुद्ध ब्राजिलको रोमाञ्चक जित appeared first on Sajha Post.