काठमाडाैं, २९ साउन । इन्डोनेसियामा भइरहेको १८ औं संस्करणको एसियन खेल अन्तर्गत पुरुष फुटबलमा नेपालले आज एसियाली पावर हाउस जापानसंग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण सकेर इन्डोनेसिया पुगेको नेपाली टोलीले जापानसंग खेल्दै एसियन गेम्सको सुरुवात गर्न लागेको हो ।
इन्डोनेसिया जानुअघि नेपाली टोलीले थाइल्याण्डमा दुई अभ्यास खेल खेलेको थियो र दुवै खेलमा नेपाल पराजित भएको थियो । नेपाल र जापानबीचको खेल सिकाराङस्थित विबावा मुक्ति रंगशालामा नेपाली समयअनुसार साँझ पौने ६ बजेबाट सुरु हुनेछ । एसियन गेम्सको औपचारिक उद्दघाटन शनिबारबाट हुने भएपनि फुटबल लगायतका खेलहरु अगाडीबाटै सुरु भएको हो ।
ओलम्पिक टोलीले खेल्न पाउने एसियन गेम्समा नेपालबाट सिनियर टोलीका तीन खेलाडी मैदान उत्रने छन् । नेपाल आज जापानसंग कम्तिमा एक अंक खोस्ने लक्ष्यसहित मैदान उत्रने छ । तर, विगत हेर्ने हो भने जापानसंगको नेपालको नतिजा राम्रो छैन ।
The post १८ औं संस्करण एसियन खेल : आज नेपाल र जापान भिड्दै appeared first on Sajha Post.