एजेन्सी, ६ असोज । रुस विश्वकपमा अपेक्षित प्रदर्शन गर्न नसके पनि पछिल्लो समय अत्यधिक चर्चामा आउनेगरी चम्किएका लियोनल मेसीको सफलताको रहस्य सार्वजनिक भएको छ । फ्रान्स तथा बार्सिलोनाका विंगर ओसमाने डेम्बेलेसँगको असल साझेदारीमा नै मेसीले पछिल्लो सफलता सम्भव भएको हो ।
हुन त मेसीले बार्सिलोनाका लागि सधैं उत्कृष्ठ खेल्न सकेका छन् । तर, यो सिजनको सुरुवाती चार खेलमा बार्सिलोनालाई लगातार जित दर्ता गराएर उनी थप चर्चामा छन् । मंगलबार बार्सिलोनाले च्याम्पियनस लिगमा पिएसभीविरुद्ध ४–० को सानदार जित दर्ता गर्यो । उक्त खेलमा मेसीले ह्याट्रिक गर्दै कीर्तिमान राखेको थिए ।
मेसीले प्रहार गरेको बलले जाली चुमिरहँदा उनको पछाडि सशक्त भूमिकामा साझेदारी गरिरहेका थिए डेम्बेलेले । उत्कृष्ट प्रदर्शनकै बलमा उनले खेलको ७४ औं मिनेटमा गोल गरे । उनले यस सिजन सबै खाले ६ खेलमा पाँच गोल गर्दै सिजनको शानदार सुरुवात गरेका छन् ।
नेयमार पेरिस सेन्ट जर्मेनमा गएपछि उनको अभाव महसुस भइरहेको बेला डेम्बेलेले नयाँ आत्मविश्वास देखाएका छन् । गत सिजनमा उनी चोटका कारण खेल्न सकेका थिएनन् । उनको सशक्त मैदान प्रवेशले बार्सिलोनालाई नै नयाँ गति दिएको छ ।
उनी तीव्र गतिमा खेल्न सक्छन् भने खेलमा आमनेसामने हुँदै डट्न पनि पछि पर्दैनन् । उनले भालाडोलिड र सोसिडाडविरुद्धको खेलमा बार्सिलोनाको जितमा निर्णयक गोल गरेका थिए भने स्पेनिस सुपर कपमा पनि सेभिल्लाविरुद्ध निर्णायक गोल गर्दै जित दिलाए ।
‘डेम्बेले राम्रो गरिरहेका छन् । यो सबै उनको कडा मेहनतको फल हो, उनी टिमका लागि मद्दत गर्ने कोसिस गरिरहेका छन् । उनी विपक्षीलाई असन्तुलन गर्न सक्षम भएका छन् । यो कुरा अब उनीबाट निरन्तर पाउनेमा विश्वस्त छौ ।’ यो प्रतिक्रिया हो पीएसभीविरुद्धको जित पछि प्रशिक्षक भाल्भार्डेको । एकातिर बार्सिलोनालाई नयाँ अवतार दिनु र अर्कोतिर मेसीलाई एसिस्ट गर्नु त छँदैछ, उनको खेलको प्रस्तुतिले फुटबलमा नयाँ स्टार जन्मिरहेको चर्चा हुन थालेको छ ।
The post डेम्बेलेको साथ पाएपछि यसरी चम्किए मेसी appeared first on Sajha Post.