काठमाडौं, १ पुस । सम्झनलायक प्रदर्शनका बाबजुद नेपाल श्रीलंकामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । शुक्रबार भएको आफ्नो दोस्रो खेलमा नेपाल टेष्ट मान्यता प्राप्त राष्ट्र भारतको युवा टोलीसँग ६ विकेटले पराजित भएपछि सेमीफाइनल पुग्ने सम्भावना समाप्त भएको हो ।
नेपाल आफ्नो पहिलो खेलमा श्रीलंकासँग १ रनको झिनो अन्तरले पराजित भएको थियो । श्रीलंकाले शुक्रबार भएको आफ्नो दोस्रो खेलमा मलेसियालाई पराजित गर्यो । यससँगै समूह ‘ए’ बाट भारत र श्रीलंका एक खेलअगावै सेमीफाइनलमा पुगेका छन् ।
कोलम्बो क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १ सय ७३ रनको चुनौती भारतले ३३ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । सहजै विजयी लक्ष्य भेट्टाउने क्रममा सुवमन गिल र हिमान्सु रानाले अर्धशतकीय पारी खेले । गिलले ५७ रन जोड्दा रानाले ५१ रनको योगदान गरेका थिए ।
नेपालका लागि पवन शर्राफले ३ तथा कप्तान सन्दिप लामिछानेले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७२ रनको सम्मानजनक योगफल तयार पारेको थियो । अन्तिम ओभरमा २ छक्का र ३ चौकासहित २४ रन प्रहार गरेका रोहित कुमार पौडेलले ६८ रनको योगदान गरे । यसका अलावा दिपेन्द्रसिंह ऐरीले ३४, आशिफ शेखले १८ र प्रकाश केसीले १३ रन जोडे ।
भारतका राहुल चहरले ५ विकेट लिए ।
पहिलो खेलमा श्रीलंकाको पसिना छुटाएको नेपाली युवा टोलीले दोस्रो खेलमा भारतविरुद्ध पनि सानदार प्रदर्शन गर्यो । नेपाली टोलीले भारतविरुद्ध प्रस्तुत गरेको यो नै सबैभन्दा उच्च चुनौती थियो । भारत अनुभव र मनोबलका हिसाबले पनि नेपालभन्दा निकै माथिल्लो स्तरको टिम हो ।
The post सम्झनलायक प्रदर्शनका बाबजुद नेपाल समूह चरणबाटै बाहिरियो appeared first on Sajha Post.