काठमाडौं । ललितपुर प्याट्रियट्स टिभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा काठमाडौं किङस इलाभेनलाई १ विकेटले हराएर ललितपुर फाइनलमा पुगेको हो ।
टियु क्रिकेट मैदानमा रोमान्चक बनेको खेलमा काठमाडौंले दिएको १०९ रनको लक्ष्य ललितपुरले पुरै २० ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो । अन्तिम ओभरमा ललितपुरलाई जितका ९ रन आवश्यक रहेको अवस्थामा योगेन्द्रसिंह कार्कीले उत्कृष्ट ब्याटिङ गर्दै चार बलमा २–२ रन जोड्दै ललितपुरलाई जित दिलाए । प्लेयर अफ दि म्याच योगेन्द्र २८ रनमा अविजित रहे ।
यस्तै कुशल भुर्तेलले २९ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्लले २१ रन जोडे । पवन सर्राफ १९ रनमा आउट भए । काठमाडौंका प्रदिप साहुले ३ विकेट लिंदा केभिन ओ ब्राएन र रोहन मुस्तफाले २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९ ओभर ५ बलमा अलआउट हुँदै १०८ रन जोड्न सक्यो ।
काठमाडौंका लागि कप्तान रोहन मुस्तफाले सर्वाधिक ३२ रन जोडे । यस्तै सागर पुनले २९ रन जोड्दा सिदान्त लोहनी १६ रनमा आउट भए । काठमाडौंलाई सस्तैमा समेट्न ललितपुरका पवन सरार्फ र योगेन्द्र सिंह कार्कीले ३–३ विकेट लिए । सन्नी पटेलले २ विकेट लिए ।
काठमाडौंले भने अब फाइनल प्रवेशको लागि इलिमिनेटरको विजेतासंग दोस्रो क्वालिफायर खेल्नेछ । बुधबार हुने इलिमिनेटरमा भैरहवा ग्लाडीयटर्स र चितवन टाइगरबीच प्रतिस्पर्धा हुनेछ ।
The post इपिएल क्रिकेट : काठमाडौंलाई हराउँदै ललितपुर फाइनलमा appeared first on Sajha Post.