काठमाडौं, ५ पुस। भैरहवा ग्लाडीयटर्स टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी(ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा रोहन मुस्तफाको कप्तानीमा रहेको काठमाडौं किङस इलाभेनलाई ६ विकेटले पराजित गर्दै भैरहवा उपाधि नजिक पुगेको हो ।
टियु क्रिकेट मैदानमा काठमाडौंले दिएको १०१ रनको लक्ष्य भैरहवाले १७ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । भैरहवाको जितमा रायन टेन डोसकाटेले ४५ रन जोड्दा रबी इन्द्रर सिंहले ३१ रन जोडे । रोहित कुमार पौडेल ९ तथा कप्तान शरद भेषावकरले अविजित ६ रन बनाए ।
काठमाडौंका संसद शेखले २ तथा प्रदीप साहुले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले पुरै २० ओभरमा अलआउट हुँदै १०० रन जोडेको थियो ।
काठमाडौंका लागि सन्दीप रजालीले सर्वाधिक २७ रन जोडे । यस्तै काठमाडौंका प्रदिप साहुले २५ रन जोड्दा अमित श्रेष्ठले १३ रन बनाए ।
काठमाडौंलाई सस्तैमा समेट्न भैरहवाका कुशल मल्लले ३ विकेट लिए । मोहमद नाभिदले २ विकेट लिए । अब भैरहवाले शनिबार हुने फाइनलमा ललितपुर प्याट्रियट्ससंग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा जित निकाल्दै ललितपुर भने फाइनलमा पुगिसकेको छ । ललितपुरले काठमाडौंलाई नै हराएको थियो ।
पहिलो क्वालिफायरमा ललितपुरसंग पराजित भएपनि काठमाडौंले दोस्रो प्ले अफ खेल्ने मौका पाएको हो । भैरहवा भने इलिमिनेटरमा चितवन टाइगर्सलाई हराएर क्वालिफायरमा पुगेको हो ।
The post काठमाडौंलाई हराउँदै भैरहवा ईपिएलको फाइनलमा appeared first on Sajha Post.