दमौली, १६ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले खेलकूदको क्षेत्रमा नेपालले फड्को मार्न थालेको बताएका छन् ।
शहीद दिवसका अवसरमा व्यास नगरपालिकाले आज आयोजना गरेको दोस्रो अल्ट्रा म्याराथन प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुदमा नेपालले प्राप्त गरेको सफलताले देशको गौरव बढाउन सहयोग पुर्याएको बताए ।
वरिष्ठ नेता पौडेलले भने, ‘खेलकुदको क्षेत्रबाट नेपाल विश्व समुदायमाझ चिनिन सफल भएको छ, यो सकारात्मक हो ।’
‘खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको दौड प्रतियोगिताले व्यास नगरपालिकालाई समेत परिचित गराउन सहयोग पुग्नेछ,’ उनले भने ।
राष्ट्रिय धावक वैकुण्ठ मानन्धरले खेल क्षेत्रको माध्यमबाट नेपाललाई विश्वमाझ चिनाउन खेलाडीले प्रयत्न गर्नुपर्नेमा जोड दिए ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलकूदको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित वार्षिकरुपमा म्याराथन प्रतियोगिता आयोजना गरिने बताए ।
व्यास नगरपालिका–५ मानहुँबाट शुरु हुने म्याराथन व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमि दूरीको रहको छ । म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु ८०, रु ६० र रु ५० हजार प्रदान गरिनेछ भने सान्त्वना हुने पाँच जनालाई जनही रु १५÷१५ हजार प्रदान गरिनेछ ।
प्रतियोगितामा १९ जिल्लाका १०४ धावकको सहभागिता रहेको नगरपालिकाका प्रवक्ता एवं व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
वैकुण्ठ मानन्धर र कान्छीमाया कोजु सम्मानित
सोही अवसरमा नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेलले ख्यातिप्राप्त धावक वैकुण्ठ मानन्धर र कान्छीमाया कोजुलाई सम्मान गरेका छन् । वरिष्ठ नेता पौडेल र नगर प्रमुख न्यौपानेले संयुक्त रुपमा उनीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरेका हुन् । रासस
The post देशले खेल क्षेत्रमा फड्को मार्दैछ : वरिष्ठ नेता पौडेल appeared first on Sajha Post.