काठमाडौं, ९ चैत । द्वन्द्वको एउटा परिधिभन्दा बाहिर निस्कनका लागि मन्सुर घर्तीमगर काठमाडौं छिरेका थिए । युद्धको चपेटामा रोल्पामा बस्न सहज थिएन, परिवारको भविष्यको त के कुरा भयो र ? मन्सुर परिवारको भविष्य खोज्दै राजधानी छिरे ।
०५९ तिर राजधानी छिरेका मन्सुर अहिले खुसी छन्, छोरीका कारण । उनकी छोरी हुन्– स्वर्णधारी उसु खेलाडी निमा घर्ती मगर । निमा साझा सोचको पारिवारिक पृष्ठभूमिमा हुर्किएकी थिइन् । कसैले के बन्ने नानी भनेर सोध्दा उनी जवाफ दिन्थिन्– डाक्टर, इन्जिनियर, नर्स तथा पाइलट । तर, उनी एक कुशल उसु खेलाडी बनिन् ।
‘भविष्यको बाटो लगावले निर्धारण गर्ने रहेछ, सोचेजस्तो नहुने र सोचेभन्दा मिठो हुने ठानेकी छु’, उनले भनिन्, ‘अहिले उसु खेल्न थालेपछि भने सधैं यही लाइनमा माथि पुग्नुपर्छ भन्ने लाग्छ । नेपालमा खेलकुदलाई त्यति राम्रो दृष्टिकोणबाट हेरिँदैन तर, आफूमा इच्छाअनुसारको क्षेत्रमा लाग्नुपर्छजस्तो लाग्छ ।’
०५६ साल पुस २ गते रोल्पाको कोटगाउँ–१, माडिचौरमा जन्मिएकी निमाले १२औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई पहिलो स्वर्ण पदक दिलाएकी थिइन् । पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पहिलो स्वर्ण दिलाएकी निमा भन्छिन्, ‘यो सागमा स्वर्ण दिलाउँछु भनेर सोचेको थिइनँ । निकै खुसी लागेको थियो ।’
सात कक्षामा भर्ना भएपछि निमाले उसु खेल्न सुरु गरेकी थिइन् । भन्छिन्, ‘हाम्रो घरनजिकै (टीकाथली) मा निञ्जा उसुपन भन्ने उसु प्रशिक्षण केन्द्र थियो । म हेरिरहन्थेँ र रमाइलो लाग्थ्यो । मलाई सबैजना खेलिरहेको देखेर खेल्ने इच्छा भयो । छिमेकमा बस्ने कमला दिदीले खेल्न आऊ भन्नुभयो । बुबाआमाले पनि खेल्न पठाएपछि उसु सिक्न थालेँ ।’
बाबाले पनि स्वास्थ्यका लागि राम्रो हुन्छ भनेर पठाएपछि उनको खेलयात्रा सुरु भएको थियो । बुबाले खेलकुद स्वास्थ्यका लागि राम्रो हुन्छ र विशेषगरी महिलाले आफ्नो सुरक्षाका लागि बलियो हुनुपर्छ भनेर खेलकुद क्षेत्रमा लाग्ने प्रेरणा दिएको उनले बताइन् । ‘म सानो हुँदा जुडो खेल्न लगिन्थ्यो तर, मलाई जुडोमा त्यति रुचि लागेन,’ उनले थपिन् ।
२/३ वर्षकी हुँदा बाबु मन्सुरले राजधानी छिराएको उनलाई सम्झना छ । रोल्पामा बस्नै नसक्ने द्वन्द्वको चपेटा भएपछि राजधानी छिर्नुपरेको तथ्य अहिले घरमा भएका भलाकुसारीका क्रममा उनले थाहा पाइन् ।
‘राजनीतिक अन्योलपछि बुबा वैदेशिक रोजगारीका क्रममा बहराइन जानुभयो । म गाउँमा आमा पुना घर्ती मगरको हेरचाहमा हुर्किएँ’, उनी सम्झिन्छिन्, ‘बाबा अरब गएर आएपछि यतै सेटल हुन आएका थियौं ।’ ०५८ सालमा बुबाले ललितपुरको टीकाथलीमा घर बनाएपछि स्थायी रूपमा सेटल भएको उनले बताइन् ।
०६१ सालमा नेपाल फर्केका बुबा मन्सुरले जिल्लामा छोरीको पठनपाठन राम्रो नलागेपछि काठमाडौं सरेका थिए । बसाइ महालक्ष्मीस्थान टीकाथली, ललितपुरमा सुरु भयो । निमाको खेलकुद यात्रा पनि त्यहीँबाट सुरु भयो । उनले त्यहीँबाट आफ्नो भविष्य निखार्न थालिन् । ‘मैले पहिलो पटक ललितपुरको डनबस्को स्कुलबाट पढाइ सुरु गरेँ । १० कक्षासम्म पढेँ’, उनले सुनाइन् ।
निमाले आफ्नो खेल जीवनको पहिलो गुरु नीराजन आले मगर रहेको बताइन् । ‘उहाँले नै मलाई उसुको आधारभूत ज्ञान दिनुभएको हो’, उनी भन्छिन्, ‘आज म यहाँसम्म आउनुमा उहाँको ठूलो योगदान छ । नीराजन सरले राष्ट्रिय टिममा आफ्ना खेलाडी बनाउँदै आउनुभएको थियो । त्यतिबेला क्लबमा मसँग युवराज थापा मगर हुनुहुन्थ्यो ।’
भारतको बगबन्धुमा भएको १२औं साग खेलकुदमा नेपाललाई पहिलो स्वर्ण दिलाएकी निमाले आफ्नो दक्षिण एसियाली खेलकुदमा स्वर्णपदक जित नै जीवनको यादगार र अमूल्य पाटो रहेको बताइन् । नेपालको तर्फबाट प्रतियोगिता सुरु भएको चौथो दिनमा निमाले उसु तर्फको थाउलोमा नेपाललाई पहिलो स्वर्ण पदक दिलाएकी थिइन् । पहिलो चरणको पहिलो खेलमा उनले ८.४५ र दोस्रो चरणको खेलमा ८.४६ गरी कुल १६.९१ अंकसहित स्वर्ण जितेकी थिइन् ।
उनको एसएलसीको तयारी भइरहेका बेला सागको बन्द प्रशिक्षण पोखरामा आयोजना गरिएको थियो । उनले स्कुलको स्वीकृति लिएरै सागको तयारी गरेकी थिइन् । मलाई साथीहरूले निकै सहयोग गरेका थिए । ‘मलाई सानो बेलादेखि पढाइमा भन्दा खेलकुदमा बढी रुचि थियो,’ उनी भन्छिन्, ‘पढ्नुपर्छ । पढाइ पनि मेरुदण्ड हो । नेपालको परिवेशमा खेलकुदले मात्र धान्ने अवस्था छैन । कतिपय खेलाडी बुढेसकालमा बेरोजगार बनेको अवस्था छ । खेलकुदमा र पढाइलाई सँगै लाने इच्छा छ ।’ आगामी दिनमा एसियन च्याम्पियनसिपका खेलमा उच्च पद्वी हासिल गर्दै जाने सोच भएको उनले बताइन् ।
सफल खेलाडी बन्न खेलमा मिहिनेत नियमितता र स्पिड चाहिने बताउने उनी भन्छिन्, ‘खेल मैदानमा तपाईंसँगै दौडिरहेको साथीहरूले उछिन्न चाहन्छ । तपाईंले अलिकति आराम गर्छु भन्नुभयो भने उसले तपाईलाई पछि पार्छ । त्यसैले आफ्नो स्पिड बढाउँदै लानुपर्छ ।’
प्रशिक्षणको समयमा प्रायः व्यस्त रहने निमा फुर्सदमा घरमा बसी मोबाइल र टेलिभिजन चलाउने गर्छिन् । उनलाई खेलकुदमा बाहेक घुम्न मन पर्छ । त्यस्तै चित्रकला, फोटोग्राफीमा पनि रुचि रहेको उनले बताइन् । उनी भन्छिन्, ‘प्रशिक्षणका बेला दाजुहरूसँग हाँसो ठट्टा गरिन्छ ।’
उनी बिहानै सबेरै उठ्छिन् । बिहान नियमित रूपमा ट्रेनिङमा जान्छिन् । भन्छिन्, ‘बिहान उठेपछि मलाई बुबाले रंगशाला छाडिदिनुहुन्छ । सबै साथी जम्मा हुन्छौं । हामी वार्म अप गर्छौं र ट्रयाकमा दौडिन्छौं । फेरि वार्म अप गर्छौं । अनि नर्मल ट्रेनिङ सुरु हुन्छ । ट्रेनिङ सकेपछि ११ बजे कलेज जान्छु ।’ हाल उनी पुरानो बानेश्वरमा रहेको गोल्डेन गेट कलेजमा म्यानेजमेन्ट अध्ययनरत छिन् ।
The post अरबको पसिनाले हुर्काएकी छोरीले दिलाएको सुख appeared first on Sajha Post.