Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आठौँ राष्ट्रिय खेलकूद अन्योलमा, अझै हुन सकेन मिति घोषणा

$
0
0

कुमार चौलागाँई/ काठमाडौँ, २१ फागुन । प्रदेश नं ५ मा हुने तय भएको बृहत आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको औपचारिक मिति घोषणा हुनसकेको छैन । अधिकांश प्रदेशमा खेलाडी छनोट भने अन्तिम चरणमा पुगिसकेको छ ।

राष्ट्रिय खेलकूद परिषद् राखेप कार्यकारी समितिको बैठक पटक/पटक बसे पनि आठौँ राष्ट्रिय खेलकूदको नयाँ मिति घोषणा गर्न सकेको छैन । अघिल्लो महीना बसेको कार्यकारी बैठकले जिल्ला छनोट पूरा भइसकेकाले प्रदेश छनोट शुरु गर्ने निर्णय गरे पनि प्रतियोगिताको मिति घोषणा गर्न सकेको थिएन ।

अधिकांश प्रदेशमा खेलाडी छनोट अन्तिम चरणमा पुगेको र एक साताभित्र सबै प्रदेशमा खेलाडी छनोट भइसक्ने राखेपले जनाएको छ । गत मङ्सिर ८ गतेदेखि नेपालगञ्ज रङ्गशालामा उद्घाटन गरी बाँके, बर्दिया, दाङ र रुपन्देहीका विभिन्न स्थानमा आयोजना गर्ने तय भएको खेलकूद प्रतियोगिता पूर्वाधार निर्माणमा ढिलाइ भएको भन्दै तीन पटक मिति सरिसकेको छ ।

गत असोज महीनामा नुवाकोटको ककनीमा बसेको राखेपको सञ्चालक समितिको बैठकले मङ्सिरमा प्रतियोगिता आयोजना गर्न पूर्वाधार नबनेकाले माघ २५ देखि फागुन १ गतेसम्म गर्ने गरी मिति तय भएको थियो । माघमा पनि पूर्वाधार नबनेको भन्दै मिति सारियो ।

परिषद् स्रोतका अनुसार प्रतियोगिताको आगामी चैत २३ देखि ३० गते गर्ने गरी तयारी शुरु गरेको छ । ‘चैत २३ गते उद्घाटन गर्ने गरी तालिका बनेको छ, प्रतियोगिताको समापन चैत ३० गते हुनेछ । केही दिनभित्रै बस्ने बोर्ड बैठकले सोही विषयमा निर्णय गर्नेछ’, सदस्य–सचिव केशवकुमार बिष्टले भने ।

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता उद्घाटन हुने नेपालगञ्ज रङ्गशाला निर्माण सम्पन्न गर्न केही समय लाग्ने तथा अन्य पूर्वाधारको काम पनि पूरा गर्न केही समय लाग्ने भएकाले प्रतियोगिताको मिति तोक्न गाह्रो भइरहेको युवा तथा खेलकूुद मन्त्रालयले जनाएको छ ।
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता समयमै हुन नसक्नु तथा र दशरथ रङ्गशाला लगायतका ठूला पूर्वाधार समयमै नबन्दा नेपालमै हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद ९साग० समेत प्रभावित भइसकेको छ ।

राखेप सदस्य–सचिव केशवकुमार बिष्टले प्रतियोगिताका लागि बन्दैगरेका भौतिक पूर्वाधारको काम अन्तिम चरणमा पुगेको बताउँदै आठौँ राष्ट्रिय खेलकूद चैतभित्रै समापन हुने दाबी गरे । उनले भने, ‘आठौँ राष्ट्रिय खेलकूदका लागि जिल्ला छनोट भइसकेको छ । भौतिक पूर्वाधार निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको छ । सरकार, खेलकूद मन्त्रालय र राखेप आठौँ राष्ट्रिय खेलकूद गर्नेमा प्रतिबद्ध छ ।’

‘अघिल्ला प्रतियोगितामा समयमै बजेट नआउने र हतारमा जसरी पनि काम सिध्याउने मानसिकताले काम गरेको थियो । यसपटक हामीले सातौँ खेलकूद प्रतियोगिता सकिएलगत्तै आठौँको तयारी शुरु गरेका थियौँ, भौतिक पूर्वाधार दिगो र बलियो बन्नेछ जसले भविष्यमा स्थानीयस्तरका खेल गतिविधिका लागि सजिलो हुनेछ” सदस्य–सचिव बिष्टले भने ।

अघिल्लो संस्करणसम्म विकास क्षेत्रका पाँच तथा तीन विभागीय टोलीले राष्ट्रिय खेलकूदमा सहभागिता जनाउने चलन थियो । यसपालि देश सङ्घीय संरचनामा गइसकेकाले र पहिलो पटक गैरआवासीय नेपाली सङ्घ एनआरएनए को एउटा टोली पनि समावेश गर्ने भएपछि राष्ट्रिय खेलकूद पनि त्यहीअनुसार गर्दा टोली सङ्ख्या बढेर ११ पुगेको छ ।

आठौंँ राष्ट्रिय खेलकूदका लागि प्रदेश २ र ३ बाट लनटेनिस र कबड्डी टोलीको छनोट पूरा भएको छ । राखेप प्रदेश नं ३ का अनुसार लनटेनिसमा पुरुषमा पाँच र महिलामा तीन खेलाडी छनोट भएका छन् ।

पुरुषमा भक्तपुरका कृष्णगोविन्द कासुला, काठमाडौँका शिवराम राना मगर, ललितपुरका निशान श्रेष्ठ र इभेक जोशी तथा मकवानपुरका कुमार जिसी छनोट भएका छन् । महिलामा ललितपुरकी प्रकृति श्रेष्ठ र रायना शाह र काठमाडौँकी अल्सा रेग्मी छानिएका छन् ।

त्यसैगरी आठौँ राष्ट्रिय खेलकूदमा प्रदेश नं २ बाट सहभागी हुने पुरुष/महिला कबड्डी टोली छनोट भएका छन् । राखेपका अनुसार पुरुषमा धनुषाका नवल राउत, कल्याण भुजेल, रोहित यादव, विजय यादव र धनवीर मण्डल, सप्तरीका वायु चौधरी र महेश मण्डल, महोत्तरीका आलम मन्सुर, रौतहटका दिलीप चौधरी, बाराका अमित पाठक र राम रुवरुप तथा पर्साका गोविन्द खड्का रहेका छन् ।

महिलामा धनुषाकी रेनु महतो, ऋचा सिंह र दिव्या साह, सप्तरीकी सरस्वती चौधरी, महोत्तरीकी अनु सुम्लिङ, सर्लाहरीकी सुस्मिता कार्की, रौतहटकी रुपा चौधरी, बाराका गङ्गा घिमिरे र प्रियङ्का यादव तथा पर्साकी श्रुती गौरे छनोट भएका छन् । रासस

The post आठौँ राष्ट्रिय खेलकूद अन्योलमा, अझै हुन सकेन मिति घोषणा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles