काठमाडौं, १७ चैत । बंगलादेशमा जारी एसीसी इमर्जिङ कप क्रिकेटअन्तर्गत अन्तिम खेलमा नेपालले हङकङलाई सात विकेटले पराजित गरेको छ ।
निर्धारित पचास ओभरको खेलमा हङकङले दिएको २१५ रनको चुनौती नेपालले ४४ ओभर २ बलमै भेट्टायो । नेपाललाई जित दिलाउने क्रममा कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी र शरद भेसवाकरले शानदार ब्याटिङ गरे ।
कप्तान ज्ञानेन्द्रले ७० रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले अविजित ६० रन जोडे । उता शरद भेसवाकरले पनि अविजित ५५ रनको योगदान गरे । उनले ५१ बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।
पहिलो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्लले आसिफ शेखसँग मिलेर ३७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । ११औं ओभरमा आसिफ ८ रनमै पेभेलियन फर्किएपछि आएका दिलिपनाथले कप्तानसँग मिलेर अर्को ४४ रनको साझेदारी गरे ।
यसअघि ब्याटिङ गर्ने क्रममा हङकङका लागि प्रारम्भिक ब्याट्सम्यान क्यामरन म्याकअलसन र अंशुमान राथले ९५ रनको साझेदारी गरेका थिए । अंशुमानले सर्वाधिक ५१ रनको योगदान दिए । उनले ६४ बलमा सात चौका प्रहार गरे । यस्तै क्यामरनले ६९ बलमा पाँच चौकाको मद्दतमा ४३ रन बनाए । वाकस खानले ३०, साहिद वासिफले २२, इशान खानले १८ र वजिद शाहले १६ रन बनाए ।
बलिङतर्फ नेपालका लागि अभिनाश कर्णले सर्वाधिक तीन विकेट लिए । उनले पाँच ओभर बलिङ गर्दै २९ रन खर्चे । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल, भुवन कार्की र सुशन भारीले समान दुई–दुई विकेट लिए । मल्लले सात ओभरमा २५ रन दिए । कार्कीले १० ओभर बलिङ गर्दै एक मेडन राखेर ३७ रन खर्चे । यस्तै भारीले १० ओभर बलिङ गर्दै ५३ रन दिए भने सन्दिप लामिछाने एक विकेट लिए ।
नेपाल र हङकङ समान दुई–दुई खेल हारेर प्रतियोगिताको समूह चरणबाटै बाहिरिएका छन् । प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तान तथा दोस्रो खेलमा बंगलादेशको २३ वर्षमुनिको टिमसँग हारेको थियो ।
The post नेपालद्वारा हङकङ ७ विकेटले पराजित appeared first on Sajha Post.