मिलान, १५ वैशाख । युभेन्टसले गत शनिबार इटालियन फुबल लिग सीरी एको यो सिजनको उपाधि जित्यो । त्यतिबेला क्रिस्टियानो रोनाल्डो यूरोपको तीन ठूला लिग जित्ने पहिलो फुटबलर बनेका थिए ।
यो शनिबार उनले एक अर्को उपलब्धि आफ्नो नाममा गरेका छन् । उनले क्लब करियरमा ६०० गोल गर्ने पहिलो क्रियाशील फुटबलर बनेका हुन् । रोनाल्डोपछि दोस्रो नम्बरमा लियोनेल मेसी रहेका छन् । अहिलेसम्म मेसीले आफ्नो क्लब करिअरमा ५९८ गोल गरिसकेका छन् ।
सीरी ए लिगमा शनिबार राति सैन सिरोमा युभेन्टस र इन्टर मिलानको खेल भइरहेको थियो । सैन सिरो इन्टर मिलानको घरेलु मैदान हो । उक्त खेल १-१ को ड्र भयो । खेलको ७औं मिनेटमा इन्टर मिलानका लागि रादजा नैन्गगोलानले गोल गरे । ६२औं मिनेटमा रोनाल्डोले एक गोल गरेर १-१ को बराबरीमा रोकिदिए । उक्त गोल नै रोनाल्डोको क्लब करिअरको ६००औं गोल थियो ।
रोनाल्डोले सबैभन्दा बढी ४५० गोल रियल मड्रिडमा खेल्दा गरेका थिए । उनले २००३ देखि २००९ सम्म म्यानचेस्टर युनाइटेडका लागि खेले । उक्त दौरानमा उनले क्लबका लागि ११८ गोल गरेका थिए । उनले करिअरको सुरुवाती क्रममा २००२ देखि २००३ सम्म स्पोर्टिङ्ग क्लब पोर्चुगलका लागि खेलेका थिए । त्यतिबेला उनले ५ गोल गरेका थिए । पछिल्लो वर्ष उनी युभेन्टसमा जोडिए । उनले त्यतिबेलादेखि अहिलेसम्म उक्त क्लबका लागि २७ गोल गरिसकेका छन् ।
The post रोनाल्डोको क्लब करिअरमा ६०० गोल, मेसीलाई पछि पार्दै बने पहिलो क्रियाशील फुटबलर appeared first on Sajha Post.