काठमाडौं, १५ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) को ४६ औं खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गरेको छ ।
दिल्लीले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको बैंगलोरले ७ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै केवल १२१ रन जोडेपछि १६ रनले पराजित भएको हो । पराजयसँगै विराट कोहली नेतृत्वको बैंगलोर समूह चरणबाटै बाहिरिएको छ । उसले १२ खेलमा केवल ८ अंक मात्र जोडेको छ ।
जितसँगै दिल्ली १२ खेलमा ८ जितसहित शीर्षस्थानमा उक्लिएको छ । र, दिल्ली १२ वर्षपछि प्ले अफमा पनि उक्लिएको छ । समान खेलमा समान जित निकालेको चेन्नई सुपर किंग्स रनरेटको आधारमा दोस्रो स्थानमा रहेको छ ।
खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले खराब प्रदर्शन गरेका छन् । ३ ओभर खेलेका सन्दीपले ३६ रन दिए पनि विकेट लिन सकेनन् ।
यो जितसँगै दिल्लीले १० वर्षपछि बैंगलोरलाई आफ्नो घरेलु मैदानमा हराएको छ । उसले पछिल्लो जित २०१० मा निकालेको थियो ।
यसअघि दिल्लीले टस जितेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेटको क्षतिमा १८७ रन बनाएको थियो । कप्तान श्रेयस अय्यरले ५२ र शिखर धवनले ५० रनको पारी खेले । शेरफेद रदरफोर्डले १२ बलमा २८ र अक्षर पटेलले ९ बलमा १६ रन जोडे । बैंगलोरका लागि युजवेन्द्र चहलले दुई विकेट लिए । उमेश यादव, वासिङ्गटन सुन्दर र नवदीप सैनाले समान १-१ विकेट लिए ।
धवनले यो सिजनमा आफ्नो ५औं र कुल ३७औं अर्धशतक पूरा गरेका छन् । यो उनको लगातार तेस्रो अर्धशतक पनि हो । चहलको बलमा आउट हुनुअगाडि धवनले दोस्रो विेकटका लागि अय्यरको साथ ६८ रनको साझेदारी गरेका थिए । अय्यरलाई सुन्दरले प्याभेलियन पठाए ।
त्यसैगरी पृथ्वी श १८ रन बनाएर उमेशको बलमा आउट भए । उनको क्याच विकेटकिपर पार्थिवले लिए । ऋषव पन्त ७ रनमा चहलबाट आउट भए भने कोलिन इनग्रामलाई ११ रनमा नवदीपले प्याभेलियन फर्काए ।
The post कोहलीको बैंगलोर दिल्ली क्यापिटलसँग स्तब्ध appeared first on Sajha Post.