काठमाडौं, २५ जेठ । कोपा अमेरिकाको तयारीमा रहेको अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा निकारागुआविरुद्ध फराकिलो जित निकालेको छ । शुक्रबार राति सम्पन्न खेलमा अर्जेन्टिनाले निकारागुवाविरुद्ध ५-१ को फराकिलो अन्तरको जित निकालेको हो ।
अर्जेन्टिनाको जितमा कप्तान लिओनेल मेसीले पहिलो हाफमा मात्र खेल्दै २ गोल गरे भने दोस्रो हाफमा लौतारो मार्टिनेजले पनि २ गोल थपे । उनी सर्जियो अगुएरोको स्थानमा मैदान प्रवेश गरेका थिए । अग्रता चुल्याउने क्रममा अर्को गोल रोबर्टो परेराले थपे ।
खेलको ३७ औं मिनेटमा गोल गर्दे अर्जेन्टिनालाई अग्रता दिलाए ।जिओभानी लो सेल्सोको पासलाई उत्कृष्ट नियन्त्रणमा लिँदै तीन डिफेन्डरलाई छक्याउँदै उत्कृष्ट गोल गरेका हुन् । त्यसको एक मिनेट नबित्दै मेसीले अर्को गोल थपेर अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । लो सेल्सोको पासमा अगुएरोले गरेको प्रहार गोलरक्षकले बचाएपनि फर्केर आएको बलमा मेसीले सुन्दर गोल गरेका हुन् ।
दोस्रो हाफमा अगुएरो र मेसीले मैदान छाडे । उनीहरुको स्थानमा मार्टिनेज र पाउलो डिबाला मैदान प्रवेश गरेका थिए । ६३ औं मिनेटमा मार्टिनेजले कर्नरमा आएको बललाई नियन्त्रणमा लिँदै गोल गरे । मार्टिनेजले अर्को १० मिनेटभित्रै व्यक्तिगत दोस्रो गोल थपे ।
खेलको ९ मिनेट समय बाँकी रहँदा परेराले अर्जेन्टिनालाई ५-० ले अगाडी बढाए । इन्ज्युरी समयको पहिलो मिनेटमा निकारागुआले पेनाल्टीमा गोल फर्काए पनि पराजय रोक्न सकेन ।
अर्जेन्टिनाले कोपा अमेरिकाको समूह चरणमा कोलोम्बिया, पाराग्वे र कतारको सामना गर्नेछ । अर्जेन्टिनाले पहिलो खेल जुन १५ मा कोलोम्बियाविरुद्ध खेल्नेछ ।
The post अर्जेन्टिना ५-१ ले विजयी, २ मिनेटभित्रै मेसीको २ गोल appeared first on Sajha Post.