काठमाडौं, २९ जेठ । एकदिवसीय विश्वकपको १७औं खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको छ । अष्ट्रेलियाले दिएको ३०८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४५.४ ओभरमा अलआउट हुँदै २६६ रन मात्र जोड्न सक्यो ।
टस जितेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै ३०७ रन जोडेको थियो । अष्ट्रेलियाको पाकिस्तानविरुद्ध यो नवौं जित हो । पाकिस्तानले पछिल्लोपटक १५ जनवरी २०१७ मा जितेको थियो । पाकिस्तानलाई लगातार सबैभन्दा बढी खेलमा पराजित गर्नेमा अष्ट्रेलिया र वेस्ट इण्डिजले बराबरी गरेको छ ।
पाकिस्तानलाई सस्तैमा समेट्न अष्ट्रेलियाली बलरहरु प्याट कमिन्सले ३ विकेट लिए भने मिशेल स्टार्क र केन रिचर्डसनले समान २/२ विकेट लिए । त्यसैगरी ग्लिन म्याक्सवेल र एरोन फिन्चले समान १/१ विकेट लिए ।
यसअघि इङल्याण्डको टाउनटनमा भएको खेलमा अष्ट्रेलियाले पाकिस्तानसामु ३०८ रनको लक्ष प्रस्तुत गरेको थियो । अष्ट्रेलियाले निर्धारित ५० ओभरमा १० विकेट गुमाउँदै कुल ३०७ रनको योगफल जोडेको थियो । अष्ट्रेलियाका लागि डेभिड वार्नर र एरोन फिन्चले सर्वाधिक रन बनाएका थिए । वार्नरले १११ बलाम १०७ र फिन्चले ८४ बलमा ८२ रन बनाएका थिए ।
त्यस्तै शाउन मार्शले २६ बलमा २३, ग्लेन म्याक्सवेलले १० बलमा २०, एलेक्स क्यारीले २१ बलमा २०, उस्मान ख्वाजाले १६ बलमा १८, स्टिभन स्मिथले १३ बलमा १० रन जोडेका थिए ।
पाकिस्तानका लागि मोहम्मद आमिरले सर्वाधिक ५ विकेट र शाहिन अफ्रिदीले २ विकेट लिएका थिए । त्यस्तै मोहम्मद हाफिज, हसन अलि र वाहाव रियाजले १/१ विकेट लिएका थिए ।
The post अष्ट्रेलियाद्वारा पाकिस्तान ४१ रनले पराजित appeared first on Sajha Post.