एजेन्सी, ३ असार । अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा पूर्व प्रशिक्षक डिएगो म्याराडोना आफ्नो अभिव्यक्तिका कारण बेलाबेलामा चर्चा र विवादमा आउने गर्छन् । उनी पुनः आफ्नो अभिव्यक्तिका कारण चर्चा र विवादमा तानिएका छन् ।
उनले कोपा अमेरिकाको पहिलो खेलमा कोलोम्बियासँग पराजित भएपछि लिओनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनी टोलीको चर्को आलोचना गरेका छन् ।
अर्जेन्टिनाले समूह ‘बी’ को पहिलो खेलमा कोलोम्बियासँग २-० को हार बेहोर्दै प्रतियोगितामा खराब सुरुवात गरेपछि म्याराडोनाले टिमको आलोचना गरेका हुन् ।
पहिलो हाफमा अर्जेन्टिना निकै सुस्त देखियो । दोस्रो हाफमा खेल सुधारे न गोल गर्न सक्यो न रोक्न सक्यो । कोलोम्बियाले अग्रता लिनुभन्दा केहि समय अगाडी मेस्सीले गोलरक्षक पोजिसनमा नभएको अवस्थामा हेडरलाई पोस्टको दिशा दिन नसक्दा अर्जेन्टिना प्रतिरक्षात्मक बन्दै गयो ।
पहिलो खेलबारे अर्जेन्टिनी टेलिभिजन टिवाईसी स्पोर्ट्ससँग बोल्दै म्याराडोनाले टोलीको प्रदर्शनको चर्को आलोचना गरे । उनले भने, ‘अर्जेन्टिनाले निकै खराब प्रदर्शन गर्यो । यस्तो अवस्थामा टोङ्गाले पनि अर्जेन्टिनालाई पराजित गर्न सक्छ ।’ उनले अगाडि थपे, ‘हामीले राष्ट्रिय टोलीका लागि खेल्दा बेग्लै गौरव अनुभूति गर्थ्यौं । अहिले त्यो सब कहाँ छ? राष्ट्रिय टोलीको जर्सी भनेको आमा समान हुन् ।’
स्मरणीय छ, म्याराडोनाले नाम लिएको टोङ्गा फिफा वरीयतामा २ सय २ स्थानमा छ ।
त्यसो त, म्याराडोना त्यस्तो अभिव्यक्ति दिन लायक पनि छन् । किनकी, अर्जेन्टिनालाई सन् १९८६ को विश्वकप दिलाउन उनले महत्त्वपूर्ण योगदान दिएका थिए ।
The post मेस्सीको कप्तानीविरुद्ध म्याराडोनाको गम्भीर टिप्पणी appeared first on Sajha Post.