मस्को, ३ असार । रुसका लागि सन् २०१८ को विश्वकपको अभ्यासका रूपमा रहेको कन्फडेरेसन्स कप शनिबार सुरु हुँदैछ ।
कन्फडेरेसन्स कपको आयोजना पनि रुसले नै गर्दैछ । कन्फडेरेसन्स कप फिफाको महादेशीय र विश्वकप प्रतियोगिताको विजेताबीच खेलाइने प्रतियोगिता हो । यस हिसाबले जर्मनी (विश्वकप विजेता), चिली (कोपा अमेरिका विजेता), पोर्चुगल (युरो विजेता), मेक्सिको (कन्केकाफ विजेता, न्युजिल्यान्ड (ओसियाना विजेता), क्यामरुन
(अफ्रिकी विजेता) र अस्ट्रेलिया (एसिया कप विजेता) यस पालिको कन्फडेरेसन्स कपका लागि चयन भएका छन् ।
आयोजकको नाताले रुसले च्याम्पियन नभए पनि प्रतियोगितामा खेल्नेछ । यसअघिका तीन संस्करण जितेको ब्राजिल भने यसपालि चयन हुन सकेन । ब्राजिलले सन् २००५, २००९ र २०१३ मा कन्फडेरेसन्स कप जितेको थियो ।
कन्फडेरेसन्स कपमा खेल्ने टिम
समूह ‘ए’
रुस
रुसका लागि यो प्रतियोगिता निकै महìवपूर्ण छ । गतवर्ष युरोपेली च्याम्पियनसिपमा पहिलो चरणबाटै बाहिरिएपछि रुसको सुस्त र भविष्यवाणी गर्न सकिने फुटबल शैलीको आलोचना भएको थियो । घरेलु मैदानको फाइदामा राम्रो नतिजा निकाली रुस अहिले आलोचनाबाट उम्कने र आगामी विश्वकपका लागि आफूलाई तयार गर्ने प्रयासमा छ । भेट्रान डिफेन्डर भासिली बेरेजुस्की र सर्जी इगनासेभिचको टिमबाट छुट्टी भइसकेको छ । उहाँहरूको स्थान लिने युवा खेलाडीले आफ्नो छाप छाड्न सकेका छैनन् । अलेक्ज्यान्डर काकोरिन टिममा नपरेपछि फोडोर स्मोलोभमा गोल गर्ने प्रमुख जिम्मेवारी छ । टिममा रुसी जर्सीमा देखिरहने मिडफिल्डर आलन जागोएभ र रोमन जोब्निन पनि हुनुहुन्छ । कन्फडेरेसन्स कप र विश्वकपका लागि गत अगस्तमा रुसले प्रशिक्षक स्टानिस्लाभ चेर्चेसोभलाई नियुक्त गरेको छ । यद्यपि उहाँले सन्तोषजनक नतिजा दिन सक्नुभएको छैन ।
पोर्चुगल
युरो–२०१६ को उपाधि जित्ने पोर्चुगल कन्फडेरेसन्स कपमा पदार्पण गर्दैछ । आगामी विश्वकपमा रुसमा फर्किन नपाइएला कि भन्ने डरमा पोर्चुगलले रुसमा खेल्नेछ । विश्वकप छनोटमा पोर्चुगल आफ्नो समूहमा दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहने टिममात्र स्वतः विश्वकपमा चयन हुने प्रावधान रहेको छ ।
रियल म्याड्रिडलाई स्पेनी लिग र च्याम्पियन्स लिग दिलाउने क्रिस्टियानो रोनाल्डो लयमा भएकाले पोर्चुगल उच्च मनोबलमा छ । पोर्चुगलको टिममा युरो फाइनलमा निर्णायक गोल गर्ने इडरलाई भने समावेश गरिएको छैन । पोर्चुगलको सशक्त पक्ष सशक्त रक्षापङ्क्ति र प्रभावशाली प्रत्याक्रमण हो ।
मेक्सिको
कन्केकाफ छनोटमा प्रभुत्व बनाएकाले मेक्सिकोलाई कन्फडेरेसन्स कपमा ठूलो भाउ दिइएको छ । ह्याभिर चिराइतो हर्नान्डेज मेक्सिकोका सर्वाधिक गोलकर्ता बनेर रुस पुग्नुभएको छ । सन् २०१५ मा मेक्सिकोको प्रशिक्षक बनेपछि हुँवा कार्लोस ओसोरियोले अहिलेसम्म मात्र दुई खेलमा पराजय बेहोर्नुपरेको छ । त्यसमा पनि प्रतिस्पर्धात्मक फुटबलमा मेक्सिको एकपटक मात्र हारेको छ ।
न्युजिल्यान्ड
ओसियाना नेसन्स कपमा विजेता बनेर न्युजिल्यान्ड कन्फडेरेसन्स कपमा चयन भयो । विश्वकप चयनमा अहिलेसम्म उसको यात्रा सलल बगेको छ तापनि विश्वकप खेल्न रुस पुनः आउनेमा न्युजिल्यान्ड ढुक्क छैन । उसले विश्वकप खेल्न दक्षिण अमेरिकी राष्ट्रसँगको प्लेअफमा जित हासिल गर्नुपर्नेछ । वेस्टह्यामका डिफेन्डर विन्स्टन रिड घुँडाको चोटले बाहिरिएपछि न्युजिल्यान्डलाई ठूलो धक्का परेको छ । उसको कप्तानको स्थान अब स्ट्राइकर क्रिस वुडले लिनुहुनेछ ।
समूह ‘बी’
जर्मनी
विश्वकप छनोटमा अहिलेसम्म खेलेका छवटै खेल जित्ने जर्मनी विश्वकप उपाधि रक्षाको बाटोमा निर्धक्कसँग लम्किरहेको छ । उसले कन्फडेरेसन्स कपलाई राम्रोसँग परीक्षण गर्न नपाएका खेलाडीलाई ठूलो प्रतियोगिताको अनुभव दिलाउने हिसाबले प्रयोग गर्नेछ । विश्वकप जित्ने टिमका तीन खेलाडी (माथियस गिन्टर, युलियन ड्राक्स्लर र सोकोड्रान मुस्ताफी)लाई मात्र कन्फडेरेसन्स कपमा सामेल गरिएको छ । अन्य नियमित खेलाडीलाई आराम दिइएको छ । यद्यपि नयाँ खेलाडी लार्स स्टिनल, आमिन युनेस, डिएगो डामे र सान्ड्रो वाग्नर हेर्नलायक खेलाडीका रूपमा रहनुहुनेछ ।
क्यामरुन
गत फेब्रुअरीमा १५ वर्षपछि अफ्रिकन कप अफ नेसन्सको उपाधि जित्ने क्यामरुनमा पनि ठूला खेलाडीको अनुपस्थिति रहनेछ । क्यामरुनका २१ वर्षीय क्रिस्टियन बासोगगमाथि अहिले सबैको नजर छ । उहाँलाई क्यामरुनका चम्किला स्ट्राइकर र सर्वाधिक सिर्जनशील फरवार्डका रूपमा लिइएको छ । अफ्रिकन नेसन्स कपमा उहाँ प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी घोषित हुनुभएको थियो ।
चिली
पछिल्ला दुई कोपा अमेरिकामा चिलीले अर्जेन्टिनालाई हराएर उपाधि जितेको थियो । सन् २०१४ को विश्वकपमा उसले स्पेनको उपाधि रक्षा अभियानमा पनि पूर्णविराम लगायो तर विश्वकप छनोटमा चिली अहिले खासै राम्रो स्थानमा छैन । अलेक्सिज सान्चेज र आर्टरो भिडालको उपस्थितिले चिली हेर्नलायक टिम हुनेछ ।
अस्ट्रेलिया
पछिल्ला तीन कन्फडेरेसन्स कपमा उपस्थिति जनाउँदा अस्ट्रेलियाले ओसियानाको प्रतिनिधित्व गरेको थियो तर सन् २०१५ मा एसियन कप जितेपछि अहिले अस्ट्रेलिया दुई महादेशको प्रतिनिधित्व गर्ने पहिलो टिम बनेको छ । सन् २००५ मा अस्ट्रेलियालाई एसियामा सारिएको थियो । एपी
The post आजदेखि सुरु हुँदैछ कन्फेडेरेसन कप, तपाई कुन देशको समर्थक ? appeared first on Sajha Post.