Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नेपालको विश्वकप खेल्ने सपना अधुरै

$
0
0

काठमाडौं, १० साउन । न्यूजील्याण्डमा अर्को वर्ष आयोजना हुने आइसीसी उन्नाइस वर्षमुनि (यु–१९)को विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ ।

सिंगापुरको इन्डियन क्रिकेट क्लबमा मंगलबार भएको अफगानिस्तानविरुद्धको खेलमा ९६ रनको भारी अन्तरले पराजय भोगेपछि नेपालको विश्वकप खेल्ने सपना असफल भएको हो । यस जीतसँगै अफगानिस्तानले विश्वकपमा एसियाको प्रतिनिधित्व गर्दै विश्वकप खेल्नेछ ।

विश्वकप एसिया छनोटमा नेपाल अफगानिस्तानसँगको दुवै खेलमा पराजित भयो । डबल राउण्ड रोबिन लिगका आधारमा भएको छनोट खेलमा सहभागी अन्य दुई राष्ट्र आयोजक सिंगापुर र मलेसियालाई भने नेपालले दुवै खेलमा पराजित गरेको थियो ।

अफगानिस्तानले दिएको १९६ रनको विजय लक्ष्य पछ्याएको नेपाल ४० दशमलव छ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४८ रनको योगदान दिए । पाँचौं नम्बरमा आएका ऐरीले ८१ बल खेल्दै एक छक्का र सात चौका प्रहार गरे ।

खराब शुरुवात गरेको नेपाल खेलको ५.२ ओभरमा १० रन हुँदा नेपालले पहिलो विकेटको रुपमा सन्दीप सुनारलाई व्यक्तिगत छ रनमा गुमायो । त्यसको अर्को ओभरमा आशिफ शेख पनि दुई रन जोड्दै मैदान बाहिरिए ।

तेस्रो नम्बरमा आएका प्रनित थापामगरले खाता नै खोल्न नै सकेनन् भने अनिल साह पनि छ रनमै समेटिए । नेपालले १०.४ ओभरमा २३ रन जोड्दा चार विकेट गुमाइसकेको थियो ।

सत्रौँँ ओभरमा नेपालले पाँचौं विकेटका रुपमा रोहितकुमार पौडेललाई गुमाउन पुग्यो । पौडेलले तीन रन मात्र जोडे । पवन सर्राफ १०, प्रकाश केसी १०, कप्तान सन्दीप लामिछाने दुई तथा शाहव आलमले पनि अविजित दुई रन मात्र जोड्न सके ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले ४६.५ ओभरमा सबै विकेट गुमाएर १९५ को योगफल बनाएको थियो ।

अफगानिस्तानका ओपनर इब्राहिम जद्रानले शतकीय पारी खेल । ११४ बल खेलेका उनले पाँच छक्का र सात चौका प्रहार गर्दै १०१ रनको योगदान दिए । त्यस्तै इक्रम अल खलिलले २४ रन जोडे । जद्रानले खलिलसँग मिलेर ७४ रनको साझेदारी गरेका थिए । अफगानिस्तानका अर्का ओपनर ब्याट्सम्यान नबिद ओबेदले २२ रन जोडे भने अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका लागि साहब आलमले चार विकेट लिए भने दीपेन्द्र सिंह ऐरीले तीन तथा कप्तान सन्दीप लामिछाने र पवन शर्राफले समान एक/एक विकेट हात पारे ।

The post नेपालको विश्वकप खेल्ने सपना अधुरै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles