काडमाडौं, १२ साउन । नेपालको चर्चित फुटबल क्लव रुस्लान थ्रीस्टारलाई क्षतिपूर्ति दिनेसम्बन्धमा आज बस्ने भनिएको अखिल नेपाल फुटवल संघ (एन्फा)को कार्यसमिति बैठक स्थगित भएको छ ।
ए डिभिजन क्लव रुस्लान थ्रीस्टारलाई एएफसी कपको दोस्रो चरणमा खेल्न नपाए बापत क्षतिपुर्ति दिने विषयमा हिजो बैठक बसेको थियो । उक्त बैठकमा कुनै सहमति नभएपछि आज अपराह्न २ बजे एन्फा कार्यसमितिको बैठक पुनः बोलाइएको थियो ।
तर एन्फाका महासचिव धिरेन्द्र प्रधानले बैठक स्थगित भएको सूचना जारी गरेका छन् ।अध्यक्षको निर्देशन बमोजिम विशेष कारणवश केन्द्रीय समितिको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सूचनामा बताइएको छ ।
हिजो बसेको बैठकमा एएफसी कपको दोस्रो चरणमा खेल्न नपाएबापत थ्रीस्टारलाई क्षतिपूर्ति उपलब्ध गराउनु अघि यसमासंलग्नलाई कारबाही गर्नुपर्ने आवाज बैठकमा उठेको थियो ।
बुधबारको बैठकमा एन्फाका मानार्थ अध्यक्ष टासी घले, उपाध्यक्ष वीरबहादुर खड्का, केन्द्रीय सदस्यहरु पंकजबिक्रम नेम्वाङ, वसन्त अर्याल र सहमहासचिव किरण राईले दोषीलाई कारबाही गरेपछि मात्रै क्षतिपूर्तिको निर्णय गर्न उपयुक्त हुने अडान राखेका थिए । त्यस्तै एन्फाको विशेष साधारणसभा भदौ २५ गते गर्ने र नयाँ कार्यसमिति चयनका लागि आगामी पुसको दोस्रो हप्ता निर्वाचन गर्ने प्रस्ताव बैठकमा उठेको एन्फा स्रोतले बताएको छ ।
The post थ्रीस्टार प्रकरणमाथि निर्णय गर्न बोलाइएको एन्फा बैठक स्थगित appeared first on Sajha Post.