काठमाडौं, १० जेठ । बार्सिलोनाले सेभियालाई पराजित गर्दै कोपा डेल रे कपको उपाधि जितेको छ । यो जितसँगै बार्सिलोनाले यो सिजनको स्पेनिस दुई उपाधि ला लिगा र कोपा दुवै उपाधि जित्न सफल भएको छ ।
लिओनल मेस्सीको प्रेरणामा अगाडि बढेको बार्सिलोनाका लागि यो कोपा डे रेको २८ औं उपाधि हो । खेलको क्रममा १० खेलाडीमा सिमित भए पनि आफ्नो आक्रामक खेललाई निरन्तरता दिँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि चुम्न सफल भएको हो ।
सोमबार विहान भएको फाइनल भिडन्तमा बार्सिलोनाले अतिरिक्त समयमा गरेको गोलको मदतमा सेभियालाई २-० गोल अन्तरले पराजित गर्न सक्यो ।
बार्सिलोनाका जाभियर मासेरानोले ३६ औं मिनेटमा नै रातो कार्ड पाएपछि टिम १० खेलाडीमा सिमित भएको थियो । यद्यपि खेलको अन्तिमतिर सेभियाका बानेगाले पनि रातो कार्ड पाए पछि दुवै टिम १० खेलाडीमा सिमित रहेका थिए ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिए पनि थपिएको ३० मिनेटको खेलमा भने बार्सिलोनाले उत्कृष्ठ प्रदर्शन गर्यो । मेस्सीले दिएको उत्कृष्ठ पासमा ९७ औं मिनेटमा डेभिड अल्बाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।
खेलको अन्त्यतिर सेभियाका कारिको मार्टिनले पनि रातो कार्ड पाएपछि टिम रक्षात्मक खेलमा फर्कियो । यही मौकामा नेयमारले थप एक गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए ।
The post बार्सिलोनाले यसरी चुम्यो कोपा डेल रेको उपाधि (भिडियोसहित) appeared first on Sajha Post.