एजेन्सी, १५ असोज । चर्चित फुटबल स्टार नेइमारका पिताले आफ्नो छोरोले बार्सिलोना छाडेर राम्रो अवसर गुमाएको बताएका छन् ।
हाल फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेलिरहेका नेइमारका पिताले आफ्नो छोरोले बार्सिलोना छाडेपछि पहिलो पटक यस्तो अभिव्यक्ति दिएका हुन् । यहि सिजन पिएसजीले विश्व कीर्तिमानी मूल्य २२ करोड २० लाख युरोमा बार्सिलोनाबाट नेइमारलाई क्लब भित्र्याएको थियो ।
फ्रान्सेली टेलिभिजन टेलीफुटसँगको अन्तर्वार्ताको क्रममा नेइमारका पिताले आफ्नो चाहनाबारे खुलासा गर्दै भने, ‘म मेरो छोरो बार्सिलोनामा नै रहोस् भन्ने चाहन्थेँ ।’ उनको आशय नेइमार बार्सिलोनामै रहनु पर्ने भन्ने थियो । नेइमार जुनियरका एजेन्ट पनि रहेका नेइमार सिनियर हुन् ।
उनले नेइमार जुनियरले बार्सिलोनामै बसेर लियोनल मेस्सी तथा लुइस स्वारेजसँगै खेलेको भए बालोन डी’ओर वा अरु उपलब्धी पाउने सम्भावना बढी हुने सम्भावना औंल्याए । यद्यपि नेइमार क्याम्प नाउ बस्न नचाहेको र उनले पिएसजी जान चाहेकाले अनुबन्ध सम्भव भएको नेइमार सिनियरले स्पष्ट पारे ।
उनले आफ्नो छोरोले ला लिगाको कम्फर्ट जोनबाट बाहिरिन चाहेको खुलासा गरे । बार्सिलोनामा रहँदा नेइमार मेस्सीको छायाँ बनेको भन्ने आशय व्यक्त गरे पनि उनले यसबारे स्पष्ट भाषा बोलेनन् ।
The post बार्सिलोना छाडेर नेइमारले राम्रो अवसर गुमाए : नेइमार पिता appeared first on Sajha Post.