काठमाडौं, १५ जेठ । नेपाली युवा स्पिनर सन्दिप लामिछानेले हङकङ टी-ट्वान्टी ब्लिजअन्तर्गत आफ्नो पहिलो खेलमा २ विकेट लिएका छन् । उनको यो प्रदर्शन कोलून क्यान्टोन्सलाई डकवर्थ लुइस मेथोडमा २ रनले विजयी हुन सहयोगी सावित भयो ।
हङहोम जाग्वार्सविरुद्ध भएको खेलमा ३ ओभर बलिङ गरेका सन्दिपले २ विकेट लिनेक्रममा २७ रन खर्चिए । पहिलो ओभरमा ४ रन दिएर १ विकेट लिएका सन्दिपले आफ्नो स्पेलको दोस्रो ओभरमा विना विकेट १६ रन खर्चिए । त्यसपछि पनि कप्तानले विश्वास गरेर उनलाई तेस्रो ओभर दिए । कप्तानको विश्वासमा खरो उत्रिएका सन्दिपले सो ओभरमा ७ रन खर्चिएर १ विकेट लिए ।
त्यसको पछिल्लो (१२.२) ओभरमा वर्षाले खेल रोकिँदा विपक्षी टिमले ५ विकेट गुमाएर ९८ रन जोडेको थियो । त्यसपछि डकवर्थ लुइस मेथोडमा नतिजा निकाल्दा जाग्वार्स लक्ष्यभन्दा २ रन पछि रह्यो । यसअर्थमा सन्दिपले फालेको १२औं ओभर जितका लागि निर्णायक सावित भयो । यदि उनले त्यस ओभरमा विकेट नलिएको भए विपक्षी टिम डिएल मेथोडमा अघि रहने लगभग निश्चित थियो ।
सन्दिपको टिममा अष्ट्रेलियन पूर्वकप्तान माइकल क्लार्क पनि छन् । उनले भने आज खास खेल देखाउन सकेनन् । ७ बलको सामना गरेका क्लार्क १ चौकाको मद्दतमा ६ रन बनाएर आउट भए ।
बंगलादेशमा भएको यू-१९ विश्वकपमा सानदार प्रदर्शन गरेका सन्दिपलाई अन्तराष्ट्रिय मिडियाहरुले पनि अष्ट्रेलियाका महान लेग स्पिनर शेन वार्नसँग तुलना गरेका थिए । सोही प्रदर्शनको बलमा सन्दिपले विश्व क्रिकेटका चर्चित हस्ति क्लार्कसँग खेल्ने मौका पाएका हुन् ।
फूल स्कोर हेर्न यहाँ क्लिक गर्नुहोस् ।
The post हङकङमा सन्दिपको टिम विजयी, उनले पहिलो खेलमै लिए २ विकेट appeared first on Sajha Post.