एजेन्सी, १४ कात्तिक । विश्वकप फुटबल २०२२ कतारमा हुने पक्का भइसकेको छ तर यसको तयारी गर्न कतारले निकै कष्ट उठाइरहनु परेको छ ।
विश्वकपकै लागि भनेर कतारका विभिन्न स्थानमा स्टेडियमहरु निर्माण भइरहेका छन् । निर्माण कार्य सुरु भइसकेपनि त्यसमा ढिलाई भइरहेको र काम गर्ने मज्दुरहरूसँग दुव्र्यवहार भएको आरोप लागेपछि विभिन्न देशसँग यसको सम्बन्ध खराब भएर तनाव झन बढिरहेको बताइएको छ । चार महिना पहिले छिमेकी देश संयुक्त अरब अमीरातले कतारसँगको सबै सम्बन्ध अन्त्य गर्ने घोषणा गरेको थियो । यसकारण आफ्नो एकमात्र मित्र राष्ट्र साउदी अरबसँग जोडिने बाटो पनि यसैका साथ बन्द भएको छ । विश्वकप फुटबलका लागि निर्माण गर्न लागिएका आठ स्टेडियम मध्ये सातको निर्माण सामग्री ओसारपसार गर्न कतारले त्यही बाटो प्रयोग गर्ने गरेको थियो जुन अहिले बन्द भइसकेको छ ।
त्यसबेला निर्माण कार्य गरिरहेका कम्पनीसँग दुई महिनालाई पुग्ने सामान मात्र थियो तर कतार संकट समाप्त हुने कुनै सम्भावना थिएन । त्यसकारण धेरै कम्पनीलाई प्रतिबन्ध लागेपछि सरसामानको अभावका कारण निर्माण कार्य सम्पन्न नहुने डर थियो । अहिले भने कतारले जसोतसो चीन, मलेशिया, टर्की र ओमानबाट सामानको आयात सुरू गरिसकेको बताइएको छ । अहिले कतारको बंदरगाह र पाकिस्तानमा कराचीको बन्दरगाहका बीच खुला गरिएको बाटो हुँदै कतारले आवश्यक सामानहरुको आयात गरिरहेको छ । यसबाटै अन्दाजा लगाउन सकिन्छ कि संकटका बीचमा पनि कतार विश्वकपलाई लिएर कति गम्भीर छ ।
यी कार्यका लागि कतारलाई तीस हजार कामदारको आवश्यक परेको थियो जसका लागि कतारले दक्षिण एसियाका विभिन्न राष्ट्रबाट कामदारको व्यवस्था गरिसकेको छ । दक्षिण एसियाका लाखौँ मानिस कतारमा कार्यरत् छन् । तर मजदुरहरुले आफ्नो अधिकारको उल्लंघन भएको, उनीहरुले कुनै सुविधा नपाएको र आफूहरुसँग दव्र्यवहार भएको आरोप लगाएपछि अर्को विवाद सुरु भएको थियो । कतारले भने यस्ता सबै आरोपलाई अस्वीकार गर्दै आएको छ । यसरी विश्वकप फुटबल कतारमा आयोजना गरिने भएसँगै कतारले विभिन्न कठिनाइहरुको सामना गरिरहनु परेको छ ।
The post २०२२ को विश्वकप कतारका लागि तनावग्रस्त बन्दै appeared first on Sajha Post.