काठमाडौं, २६ माघ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज ओमनको सामना गर्नेछ । नामिबियामा जारी प्रतियोगितामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ ।
पहिलो खेलमा नेपालले हिजो आयोजक नामिबियालाई १ विकेटले हराएको थियो । ओमन भने पहिलो खेलमा क्यानाडासँग ८ विकेटले पराजित भएको थियो । नामिबियाको राजधानी विन्डहकमा हिजो घरेलु टोलीले दिएको १३९ रनको चुनौती नेपालले खेलमा चार बल बाँकी छँदा ९ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका बसन्त रेग्मीले संयमतापूर्वक ब्याटिङ गर्दै अविजित २४ रन जोडेपछि नेपाल विजयी भएको हो । नेपालको जितमा शरद भेषावकरको २९ रन पनि महत्वपूर्ण रह्यो ।
यसअघि पहिले ब्याटिङ गरेको नामिबियालाई सस्तैमा रोक्न नेपालका स्पिनर सन्दिप लामिछानेले ४ विकेट लिए । यस्तै, सोमपाल कामीले ३ तथा बसन्त रेग्मी, पारस खड्का र शरद भेषावाकरले १–१ विकेट लिएपछि आयोजक नामिबिया ३४ ओभर २ बलमा १३८ रनमै समेटिएको हो ।
नेपाल, नामिबिया, युएई, केन्या, ओमान र क्यानडा गरी ६ टोली सहभागी प्रतियोगिताको शीर्ष दुईमा पर्ने टोलीले अर्को महिना जिम्बाबेमा हुने एक दिवसीय विश्वकप क्रिकेटको छनौट प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
The post विश्व क्रिकेट लिग डिभिजन टू : आज ओमनसँग खेल्दै नेपाल appeared first on Sajha Post.