एजेन्सी, १२ चैत । अष्ट्रेलियाली क्रिकेट टोलीका कप्तान स्टिभ स्मिथले खेलको क्रममा आफूले छल गर्ने प्रयास गरेको स्वीकार गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसि)ले उनलाई एक टेस्ट खेलमा निलम्बन गरेको छ ।
साथै स्मिथले एक खेल खेलेबापत उनले पाउने पूरै शुल्क जरिवानास्वरुप तिर्नुपर्ने आईसीसीले जनाएको छ।
शनिबार स्मिथले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्ट म्याचमा अर्का एक खेलाडीलाई बलको वास्तविक स्वरुप बिगार्न अर्थात् बल ट्याम्परिङ गर्न अह्राएको स्वीकारेका थिए।
आईसीसीका प्रमुख कार्यकारी डेभिड रिचर्डसनले स्मिथले कप्तानको हैसियतबाट उनको टोलीका खेलाडीहरूले गरेको कार्यका लागि पूर्ण जिम्मेवारी लिनुपर्ने बताएका छन्।
साथै उनको निलम्बन उचित भएको पनि रिचर्डसनको भनाइ छ।
अष्ट्रेलियाली क्रिकेट निकाय क्रिकेट अष्ट्रेलिया(सीए)ले उसको टोलीको गतिविधिहरूबारे अनुसन्धान अघि बढाएको छ।
बल ‘ट्याम्परिङ’ प्रकरणले आफूलाई स्तब्ध र नराम्ररी दुःखी तुल्याएको अष्ट्रेलियाका प्रधानमन्त्री म्याल्कम टर्नबुलले बताएका छन्।
उनले भने, ‘हामीले पूर्ण रुपमा विश्वास गर्न सकिराखेका छैनौँ कि हाम्रो क्रिकेट टोली छलमा संलग्न भएको थियो भनेर। कसरी अष्ट्रेलियाली टोली यस्तो छलकपटमा संलग्न हुन सक्यो ?’
स्मिथले अष्ट्रेलियाली टोलीको ‘नेतृत्वदायी समूह’ले खेल नतिजा आफ्नो पक्षमा पार्न बल ट्याम्पर’ गर्ने योजना बनाएको र ब्यास्टम्यान क्यामरन ब्याङ्करफ्टले त्यस्तो योजनालाई अघि बढाएको स्वीकार गरेका छन्।
अब स्मिथले दक्षिण अफ्रिकाविरुद्धको चौथो तथा अन्तिम टेस्ट म्याच खेल्न नपाउने भएका छन्।
ब्याट्सम्यान ब्याङ्करफ्टले भने उनले खेल खेलेबापत पाउने शुल्कको ७५ प्रतिशत रकम तिर्नुपर्नेछ।
The post अष्ट्रेलियाली क्रिकेट टोलीका कप्तान स्टिभ स्मिथ निलम्बित appeared first on Sajha Post.