काठमाडौं, २ चैत । ट्वान्टी-ट्वान्टी अथवा भनौं आक्रामक क्रिकेटको लोकप्रियता शिखरमा छ । सटिक र रोमाञ्चकताले भरिपूर्ण कान्छो क्रिकेट संस्करणको महाकूम्भ विश्वकप भारतमा सुरु भइसकेको छ ।
पहिलो चरणको खेलहरु सकिसक्दा अब दोस्रो चरणमा १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । जिम्बावेबाहेक ९ टेष्ट मान्यताप्राप्त राष्ट्र र एसोसिएट टिम अफगानिस्तानले दोस्रो चरणमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
ट्वान्टी-ट्वान्टी क्रिकेटमा रेकर्ड बन्ने र तोडिनेक्रम निरन्तर चलिरहन्छ । आउनुस् आज हामी तपाईंलाई टी-ट्वान्टीका यस्ता केही रेकर्डबारे जानकारी दिँदैछौं ।
– टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने खेलाडीको रेकर्ड न्युजिल्याण्डका ब्रेण्डन म्याकुलमको नाममा छ । आफ्नो करियरमा उनले २ हजार १ सय ४० रन बनाएका छन् ।
– टी-ट्वान्टी अन्तराष्ट्रियमा एकै पारीमा सबैभन्दा धेरै रनको रेकर्ड अष्ट्रेलियाका एरोन फिञ्चको नाममा छ । उनले २०१३ मा साउथम्पटनमा खेलिएको इंग्ल्याण्डविरुद्धको खेलमा १ सय ५६ रनको विस्फोटक पारी खेलेका थिए ।
– हारेको म्याचमा सबैभन्दा बढी (१२४ अविजित) रन बनाउने खेलाडीको रेकर्ड अष्ट्रेलियाका शेन वाट्सनको नाममा छ । यो दोस्रो सर्वाधिक रनको विश्व रेकर्ड पनि हो । उनले हालै भारतसँगको टी-ट्वान्टी श्रृंखलामा सो विस्फोटक पारी खेलेका थिए ।
– टी-ट्वान्टी अन्तराष्ट्रियमा सबैभन्दा बढी रन बनाउने विकेट किपर न्युजिल्याण्डका ब्रेण्डन म्याकुलम हुन् । उनले सन २०१२ मा बंगलादेशविरुद्ध १ सय २३ रन बनाउँदै यो रेकर्ड बनाएका थिए ।
– टी-ट्वान्टी अन्तराष्ट्रियमा सबैभन्दा ठूलो कप्तानी पारी खेल्ने रेकर्ड शेन वाट्सनको नाममा छ । उनले भारतविरुद्ध आफूले कप्तानी गरेको खेलमा अविजित १ सय २४ रन बनाएका थिए ।
– कुनै पनि विकेटका लागि सबैभन्दा ठूलो साझेदारी (१७१) न्युजिल्याण्डका मार्टिन गुप्टिल र केन विलियमसनको बीचमा भएको थियो ।
– लक्ष्यको पिछा गर्दै सर्वाधिक इनिङ टोटलको रेकर्ड वेस्ट इण्डिजको नाममा छ । वेस्ट इण्डिजले लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाविरुद्ध २ सय ३६ रन बनाएको थियो ।
– एकै पारीमा सर्वाधिक खेलाडी शुन्य रनमा आउट हुने टिमको रेकर्ड केन्या र जिम्मावेको नाममा छ । ति खेलमा ६ / ६ खेलाडी शून्य रनमा आउट भएका थिए ।
– गैर-विकेटकिपरमा सबैभन्दा बढी क्याच लिने खेलाडीको रेकर्ड न्युजिल्याण्डका रोस टेलरको नाममा छ । उनले टी-ट्वान्टी अन्तराष्ट्रियमा ४१ क्याच लिएका छन् । यो विकेट किपरबाहेकका अन्य खेलाडीमा सर्वाधिक हो ।
– रनका हिसाबले सबैभन्दा फराकिलो जितको रेकर्ड श्रीलंकाको नाममा छ । उसले केन्याविरुद्ध १ सय ७२ रनको जित दर्ता गरेको थियो ।
– विकेटका हिसाबले सबैभन्दा फराकिलो १० विकेटको जित धेरै टिमले हात पारेका छन् । तर, ५१ बल बाँकी रहँदै पाकिस्तानविरुद्ध जित हात पारेको दक्षिण अफ्रिका पहिलो स्थानमा छ ।
– लगातार सबैभन्दा बढी म्याचमा जित हात पार्ने टिमको रेकर्ड इंग्ल्याण्डको नाममा छ । ऊ आफ्ना ८ अन्तराष्ट्रिय टी-ट्वान्टी खेलमा लगातार अपराजित रहेको थियो ।
– बलिङतर्फ एकै म्याचमा सर्वाधिक विकेटको किर्तिमान श्रीलंकाका अजन्था मेन्दिसको नाममा छ । उनले आफ्नो ४ ओभरको स्पेलमा २ मेडन राखेर ८ रन खर्चिएर जिम्बावेका ६ व्याट्सम्यानलाई पेबेलियनको बाटो देखाएका थिए । यस्तै उनले अष्ट्रेलियाविरुद्ध पनि ४ ओभरमा ६ विकेट लिएका छन् ।
– टी-ट्वान्टी अन्तराष्ट्रियमा सबैभन्दा बढी विकेट लिने खेलाडी पाकिस्तानका शहिद अफ्रिदी हुन् । उनले ९३ विकेट लिएका छन् । दोस्रो र तेस्रो स्थानमा पाकिस्तानकै उमर गुल र सइद अज्मल छन्, उनीहरुले समान ८५ विकेट लिएका छन् ।
– टी-ट्वान्टी अन्तराष्ट्रियमा सबैभन्दा बढी खेलाडीलाई पेबेलियन पठाउने विकेटकिपर पाकिस्तानका कमरान अकमल हुन् । टी-ट्वान्टी अन्तराष्ट्रियमा ६० वटा विकेटमा उनको सम्लग्नता छ ।
The post टी-ट्वान्टी क्रिकेटका यी १५ रेकर्ड तोडिएलान् त यसपाली ? (रेकर्डहरुको सूचीसहित) appeared first on Sajha Post.