Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

महिला विश्वकप क्रिकेट खेल्ने नेपालको सम्भावना सकियो

$
0
0

cricket-womenकाठमाडौँ, २८ असोज । आइसिसी महिला विश्वकप क्रिकेट एसियाली छनोटअन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग एक विकेटले पराजित हुुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

एक खेलअगावै नेपालको सन् २०१७ मा हुुने ग्लोबल छनोट खेल खेल्ने सपना समाप्त भएको हो । चार टोलीले भाग लिएको उक्त छनोटमा शीर्ष स्थान हासिल गर्ने एक टोलीले ग्लोबल छनोटमा सहभागिता जनाउन पाउनेछन् । त्यस्तै ग्लोबल छनोटमा १० टोलीमध्ये शीर्ष चारभित्र पर्ने टोलीले इङ्ल्यान्डमा हुने महिला विश्वकप खेल्न पाउनेछन् ।

हङकङ क्रिकेट क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १०८ रनको योगफल तयार गर्‍यो । जवाफी ब्याटिङमा उत्रेको थाइल्यान्डले १८ दशमलव चार ओभरमा नौ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

थाइल्याण्डकी चानिदा सुथिरुआङले २७ तथा नाताकान चान्तमले २३ रनको योगदान दिइन । नेपालकी करुणा भण्डारीले चार तथा रुबिना बेलबासे र सीता राना मगरले समान दुई/दुई विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको नेपालकी नेरी थापाले ३२, इन्दु बर्माले २६, निर्मलाकुमारी शाहीले २०, ज्योती पाण्डेले १३ तथा रुबिना बेलबासेले १० रन जोडिन । जितसँगै थाइल्यान्ड आठ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ । चार खेल खेलेको नेपालको भने दुई खेलमा जित तथा दुई खेलमा हार बेहोर्दै चार अङ्क मात्र छ ।

यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक हङकङसँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । त्यसैगरी मङ्गलबार भएको तेस्रो खेलमा नेपालले चीनलाई पराजित गरेको थियो भने बिहीबार भएको चौथो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो । नेपालले अब चीनसँग खेल्न बाँकी छ । रासस

The post महिला विश्वकप क्रिकेट खेल्ने नेपालको सम्भावना सकियो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles