रत्ननगर चितवन, २ कात्तिक । चितवनमा १७ वर्षपछि १२औँ विकास रनिङ सिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ ।
सो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको शिक्षामन्त्री धनिराम पौडेलले सोमबार उद्घाटन गरे । सो क्रममा बोल्दै उनले नेपालमा खेलकुदको विकासका लागि सबै क्षेत्रको सहयोग जरुरी रहेको बताए ।
विसं २०५६/५७ मा द्वन्द्वलगायत विविध कारणले स्थगित भएको खेल १२औँ शृङ्खलाको रुपमा सोमबारदेखि सुुरु भएको हो । उद्घाटनपछि मन्तव्यका क्रममा मन्त्री पौडेलले बताए ।
विकास सिल्ड समितिले नेपालको विभागीय तथा भारतका चारसहित १५ टिमसहितको सहभागितामा फुटबल आयोजना गरेको हो । सोमबार भएको उद्घाटन खेलमा टाई ब्रेकरमा चितवन ११ ले हिमालयन युवा क्लब कैलालीलाई ४–३ गोल अन्तरले पराजित गरेको छ । खेलमा दुईतर्फबाट १–१ गोल भएपछि खेल टाई ब्रेकरमा गएको थियो ।
कात्तिक १३ गतेसम्म यहाँको क्याम्पा चौरमा हुने प्रतियोगितामा विजेताले तीन लाख नगद तथा उपविजेताले एक लाख पुरस्कार तथा ट्रफी र मेडल पाउने आयोजक समितिका अध्यक्ष श्यामकुमार पियाले जानकारी दिए।
७० लाखभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको खेलका लागि मैदान आकर्षक बनाइएको छ भने अस्थायी प्यारापिट समेत निर्माण भएको छ ।
फुटबल प्रतियोगितामा नेपालमा चर्चित मनाङ मस्र्याङ्दी क्लब, सङ्कटा क्लब, सशस्त्र प्रहरीको एपिएफ, नेपाल प्रहरी र नेपाल आर्मी, झापा–११, हिमालयन युथ क्लब कैलाली, मोरङ फुटबल क्लब, चितवन ११, सहारा, हिमालयन शेर्पाले सहभागिता जनाउँदै छन् ।
यस्तै, भारतको सिक्किम र एफसी कोलकाता तथा युनाइटेड खर्साङ र युनाइटेड क्लब सिवान भारतले समेत खेलमा सहभागिता जनाउने प्रचार समितिका संयोजक सिद्धार्थलाल चुकेले जानकारी दिए ।
खेलमा फेयर प्ले अर्वाड २५ हजारको छ । यस्तै हरेक म्याचमा उत्कृष्ट हुनेलाई १० हजार, म्यान अफ द टुर्नामेन्टलाई १० हजार, सर्वाधिक गोलकर्तालाई २५ हजार पुरस्कार समेत व्यवस्था गरिएको छ । रासस
The post खेलकुदले देशको पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्छ – मन्त्री पौडेल appeared first on Sajha Post.