काठमाडौं, १३ कात्तिक । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अस्ट्रेलियामा निकै नै सानदार प्रदर्शन गरेका छन् । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यस्थित प्रिमियर ग्रेड क्रिकेट सिजन खेल्न सिड्नी पुगेका सन्दीपले शनिबारको खेलमा एकै इनिङमा ६ विकेट लिएका हुन् ।
अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कको टिम वेस्टर्न सबअर्ब्सको सेकेण्ड ग्रेड टिमबाट खेलेका सन्दीपले टिमका लागि सबैभन्दा निर्णायक भूमिका खेले । दुई दिवसीय खेलको पहिलो इनिङमा सबअर्ब्सले २१८ रन जोड्यो ।
यसक्रममा अन्तिम नम्बरमा ब्याटिङ गर्न आएका सन्दीपले १ चौकासहित ५ बलमा ५ रन प्रहार गरे ।
त्यसपछि आफ्नो पहिलो इनिङको खेल लिएर आएको सेन्ट जर्ज १ सय ८३ रनमा समेटियो । उसका ६ व्याट्सम्यानलाई सन्दीप एक्लैले पेबेलियनको बाटो देखाए । कुल २१ ओभर १ बल बलिङ गरेका सन्दीपले ६ विकेट लिनेक्रममा ५ मेडन राख्दै ६३ रन खर्चिए । बलिङ पनि निकै अनुशासित गरेका सन्दीपले एउटा पनि वाइड/नो बल फालेनन् ।
यसअघि पहिलो तीन खेल ए ग्रेड टिमबाट खेलेका सन्दीपले पहिलो खेलमा १ विकेट लिएका थिए । त्यसपछि बाँकी दुई खेलमा उनले विकेट लिन सकेनन् । सोही कारण उनलाई आज सेकेण्ड ग्रेड टिमबाट खेलाइएको थियो ।
जसमा उनले एक्लै विपक्षी टिमलाई धरापमा पारे । उनको प्रदर्शनलाई तलको स्कोर कार्डमा हेर्न सकिन्छ ।
The post अस्ट्रेलियामा सन्दीपको कमाल, एकै इनिङमा चट्काए ६ विकेट (स्कोर कार्डसहित) appeared first on Sajha Post.