काठमाडौं, १५ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले साउथ हृयाम्पटनमाथि सहज जित हात पारेको छ । यो जितसँगै उसले उपाधि होडमा रहेका शीर्ष क्लबहरुमाथि सशक्त दबाव बढाएको छ ।
आइतबार राति भएको खेलमा चेल्सीले साउथ हृयाम्पटनमाथि २-० गोलको सहज जित दर्ता गरेसँगै यस्तो दबाव बढाएको हो । साउथ हृयाम्पटनको घरेलु मैदानमा भएको खेलमा चेल्सीले छैटौं मिनेटमा नै इडेन हजार्डको गोलबाट अग्रता लिएको हो ।
दोस्रो हाफको ५५ औं मिनेटमा डिएगो कोष्टाले चेल्सीको अग्रता दोब्बर पारेसँगै खेलमा फर्कने घरेलु टोलीको सम्भावना साँघुरियो । जितसँगै चेल्सीको १० खेलबाट २२ अंक भएको छ । शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटीसँगै दोस्रो स्थानको आर्सनल र तेस्रो स्थानको लिभरपुलको पनि समान २३ अंक नै छ ।
२०१४/१५ को सिजन प्रिमियर लिग प्लेयर अफ दि सिजन बनेका हजार्डलाई तत्कालीन प्रशिक्षक जोसे माउरिन्होले हेजार्ड रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोभन्दा उत्कृष्ट भएको बताएका थिए । त्यतिबेला पनि हजार्ड चम्किँदा चेल्सी सिजन च्याम्पियन बनेको थियो ।
यो सिजनमा पनि उनले पाँच गोल गरिसकेका छन् । आइतबार पनि उनी म्यान अफ दि म्याच बने ।
The post चेल्सीको सहज जित, शिर्ष तीन क्लबलाई चुनौती बढ्यो appeared first on Sajha Post.