एजेन्सी, २० असार । फिफा विश्वकप २०१८ को सन्दर्भमा धेरै सुखद र दुःखद घटनाहरु घटेका छन् । यसमध्ये एउटा दुःखद घटना घट्यो नाइजेरियाका कप्तान जोहन अबीलाई पनि ।
जब उनी समूह चरणको खेलमा अर्जेन्टिनासँग भिड्न मैदानमा जाँदै थिए, उनको परिवारले उनको पिताको अपहरण भएको खबर सुनाए । समूह चरणको निर्णायक खेल हुनुभन्दा ४ घन्टा अगाडि यस्तो खबर सुनेपछि उनी मर्माहत भएका थिए । परिवारको खबर थियो, ‘अपहरणकारीले अपहरणको खबर सार्वजनिक गरे पिताको हत्या गर्ने धम्की दिएका छन् ।’
खेलाडीको रुपमा व्यावसायिक धर्म पूरा गर्न उनी पीडालाई मनभित्र दबाएर मैदानमा उत्रिए । उनले आफ्नो टिम र व्यवस्थापनलाई समेत यसबारे सुईंको दिएनन् । ‘म असाध्यै द्विविधामा थिएँ, मेरो काँधमा १ सय ८० मिलियन नाइजेरिएनलाई खुसी बनाउने कि दुःखी भन्ने प्रश्न थियो । मैले शतप्रतिशत मेहनत गरेर खेल खेलेँ ।’
उनले अगाडि थपे, ‘मसँग बुवाको जीवनरक्षाको लागि प्रार्थना गर्नुबाहेक कुनै विकल्प थिएन ।’ उनले एकातिर पिता र परिवारको पीडा र अर्कोतिर करोडौं नाइजेरियनको भविष्य रहेको बताए । उनले आफ्नो पिताको जीवन अपराधीको हातमा भएकोले कुनै पनि जोखिम नउठाएको स्पष्टीकरण दिए ।
The post पिताको अपहरणको खबरपछि पनि मैदानमा भिडिरहे कप्तान जोहन अबी appeared first on Sajha Post.