काठमाडौं, २३ असार । पाँच पटकको विश्व विजेता ब्राजिललाई बेल्जियमले स्तब्ध बनाएको छ । उपाधिको प्रमुख दावेदार मानिएको ब्राजिललाई बेल्जियमले २-१ पराजित गर्दै क्वाटरफाइनलबाटै घर फर्काएको हो ।
रुसको काजान एरिनामा भएका प्रतिस्पर्धात्मक क्वार्टरफाइनलको भिडन्तमा मध्यान्तरअघि गरेको २ गोल नै बेल्जियमको जितमा निर्णायक बन्यो । बेल्जियमको जितका लागि गोलरक्षक थियागो कोट्वाको प्रदर्शनले धेरै मद्दत गर्यो । खेलको १३ औं मिनेटमै बेल्जियमको प्रहार क्लियर गर्न लाग्दा फर्नान्डिन्होले आफ्नै पोष्टमा गोल गर्न पुगे । आत्मघाती गोलबाट पछाडि परेको ब्राजिलविरुद्ध ३१औं मिनेटमा अर्को गोल गर्दै बेल्जियमले अग्रता दोब्बर बनायो । मिडफिल्डर केभिन डी ब्रुयेनले २० यार्ड टाढाबाट गरेको प्रहार गोलमा रुपान्तरण भयो ।
दोस्रो हाफमा ब्राजिलले १ गोल फर्कायो । धेरै अवसरहरु सिर्जना गरे पनि गोलमा रुपान्तरण गर्न नसक्दा ब्राजिल क्वाटरफाइनलबाटै बाहिरियो । काउन्टर अट्याट र पोष्टमा फलामे सुरक्षा नै बेल्जियमको जितका लागि सशक्त पक्ष रहे ।
विश्वकपमा सेमिफाइनलसम्मको बेल्जियमको यो दोस्रो यात्रा हो । यसअघि सन् १९८६ मा मेक्सिकोमा आयोजित विश्वकपको क्वार्टरफाइनलमा पेनाल्टी शुटआउटमा स्पेनलाई ५–४ ले हराउँदै सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।
बेल्जियमको यो जितसँगै विश्वकप ट्रफी युरोपमै रहने सम्भावना बढेको छ । विश्वकपको यसअघिका २० संस्करणमध्ये ११ संस्करण युरोपेली र ९ संस्करण दक्षिण अमेरिकी टोलीले जितेका छन् । यस संस्करणमा युरोपेली टोलीमा एउटा उपाधि थपिने भएको निश्चित भएको छ ।
विश्वकपमा अब फ्रान्स, बेल्जियम, इंग्ल्याण्ड, स्विडेन, क्रोएसिया र आयोजक रुस बाँकी छन् । शनिबार हुने तेस्रो र चौथो क्वार्टरफाइनल खेलबाट सेमिफाइनल समीकरण पूरा हुनेछ । बाँकी रहेका ६ टिममध्ये फ्रान्स र इंग्ल्याण्डले मात्रै यसअघि विश्वकपको उपाधि जितेका छन् ।
The post ब्राजिललाई २-१ ले स्तब्ध बनायो बेल्जियमले, ट्रफी युरोपमै रहने ! appeared first on Sajha Post.