काठमाडौं, १७ भदौ । एसिया कप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत खेलमा नेपालले सिंगापुरविरुद्ध ४ विकेटको जित निकालेको छ ।
सिंगापुरले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याएको नेपालले १३१ बल बाँकी रहँदै ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । नेपालको जितमा अनिल शाहले सर्वाधिक ४३ रन जोडे । उनले ३२ बल खेल्दा २ छक्का र ५ चौका प्रहार गर्दै ४३ रन जोडेका हुन् । त्यसैगरी, दिपेन्द्र सिंह ऐरीले ३३ र ज्ञानेन्द्र मल्लले २ छक्का र एक चौकासहित ३५ बल खेलेर २९ रन जोडे भने सुवास खकुरेलले १६ र सागर पुनले १४ रन जोडे ।
कप्तान पारस खड्का भने ११ रनमै बोल्ड हुन पुगे पनि मध्य क्रममा ब्याट्स्म्यान सम्हालिएपछि नेपालले सहजै जित हात पारेको हो ।
मलेसियाका लागि अनन्तथ कृष्णले २ विकेट लिए । कार्थिकेयान सुब्रामनियनले १ विकेट हात पारे ।
मलेसियामा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा अलआउट हुँदै १५१ रन जोडेको थियो । उसका लागि चेतन रामचन्द्र सूर्यवंशीले सर्वाधिक ६० रन जोडे । सिंगापुरलाई मध्यम स्कोरमा रोक्ने क्रममा ललित राजवंशी र सन्दीप लामिछानेले समान ३, सोमपाल कामीले २ तथा वसन्त रेग्मीले १ विकेट लिए ।
यसअघि खेलेका तीनवटै खेलमा सिंगापुर पराजित भएको थियो । नेपालले एक खेल जितेको छ र दुई खेलमा हार बेहोरेको छ । यो जितसँगै नेपालको छनौट सम्भावना थप बलियो भएको छ ।
The post नेपालसँग सिंगापुर ४ विकेटले पराजित appeared first on Sajha Post.