पोखरा, ५ कार्तिक । पोखरामा हुने पोखरा प्रिमियर लिग शुरु हुन मात्रै तीन दिन बाँकी छ । त्यसपछि पोखरामा सर्वाधिक राशीको टी–२० क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग शुरु हुने छ । काम विहानदेखि साँझसम्म भइरहेको छ । बाँकी त केवल पीच र आउटफिल्डको छ ।
पीचमा नियमित रोलर लगाईएको छ । रोलर लगाउँदै पानीले छम्कदैं गरिएको छ । दुबो उमारिएको छ । आउटफिल्ड भने दक्षिण पश्चिम साईडमा केही उबडखाबड छ । त्यसलाई पनि रोलर लगाएर सम्याउने योजना छ । त्यसपछि फाईनल टच दिने लक्ष्य आयोजक क्विन्स इभेण्ट म्यानेजमेन्ट प्रालिले लिएको छ ।
‘पोखरा प्रिमियर लिग पोखराको लागि ब्राण्ड हो ।’ प्रालिका प्रवन्ध निर्देशक छुम्बी लामाले भने–‘त्यो ब्राण्डलाई पोखराले नै क्यास गर्ने हो । हामीले लिएर जादैनौं ।’ उनकै शब्दमा पोखरा प्रिमियर लिगले पोखराको क्रिकेटखेलको विकास र पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपिने छ । पुरस्कार राशी र अन्य जानकारी भने पत्रकार सम्मेलन गरेर नै घोषणा गर्ने उनको भनाई थियो ।
नेपाली क्रिकेटका कप्तान पारस खड्काले पनि पोखरा रंगशालाको क्रिकेट मैदान प्रत्यक्ष नियाले । उनले आउट फिल्ड परीक्षण गर्ने क्रममा बलले व्याटिङ गरेर चेक गरे । केही ठाँउमा रोलर लगाउनुपर्ने आवश्यकता औंल्याए । ‘क्रिकेटको स्टार्डण्र्ड अनुसार मैदान छ । पोखरा प्रिमियर लिगपछि आवश्यक भौतिक पुर्वाधार थपियोस । हामीले पनि केही सिक्ने मौका पाँउ र केही नयाँ पुस्ता सिकाउने अवसर मिलोस ।’ पारस खड्काले भने । झण्डै पाँच वर्षपछि पोखराको मैदानमा उत्रिने पाउने अवसर नै सौभाग्य नै भएको बताए ।
उनको भनाई अनुसार पोखराको मैदान राम्रो र उत्कृष्ठ छ । पीच र आउटफिल्ड अन्य ठाँउको तुलनामा राम्रो बनेको छ । यद्यपी खेलेपछि मात्रै पूर्ण रुपमा मैदान र पीचको बारेमा जानकारी हुने स्पष्ट पारे । पोखराको टिम पोखरा पल्टनले दुई स्थानीय खेलाडी अनुबन्धन गर्न बाँकी छ । छ फ्रेन्चाईज कम्पनीले दुई दुई अन्तर्राष्ट्रिय खेलाडी समेत अनुबन्धन गर्ने काम बाँकी छ ।
The post पोखरा प्रिमियर लिगका लागि मैदान र पीच तयार appeared first on Sajha Post.