काठमाडाैं, ८ पुस । सातौैं राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिता पूर्वाञ्चलका विभिन्न जिल्लामा सुरु हुँदैछ । आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप)ले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताएको छ । प्रतियोगिताको दिउँसो ३ बजे विराटनगरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सातौ राष्ट्रिय खेलकुदमा प्रदर्शनी खेलसहित कुल ३५ खेल समावेश छन् । जसमध्ये फुटबल र भलिबलका खेल दुहवी र धरानमा सुरु भइसकेको छ । आर्चरी, स्क्वास, फेन्सिङ र साईक्लिङको पदकलाई तालिकामा गणना गरिने छैन । मौसम र भूगोलका कारण पूर्वमा अहिले गर्न कठिन हुने ट्राएथ्लन, पौडी र शारीरिक सुगठनका खेल काठमाडौंमा सम्पन्न भईसकेका छन् । गल्फ र विलियार्ड तथा स्नुकर सम्बन्धित खेलकुद संघले आफ्नै खर्चमा आयोजना गर्दैछन् ।
प्रतियोगितामा २ सय ९४ स्वर्ण, २ सय ९४ रजत तथा ४ सय ४७ कास्य पदकका लागि झण्डै ३५ सय खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीलाई पहिलो पटक नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ । व्यक्तिगत प्रतिस्पर्धाका विजेताले जनही १५ हजार पाउनेछन् भने टिम प्रतिस्पर्धाका विजेताले ७ हजार पाउनेछन् । २८ करोडको लागतमा सम्पन्न हुने सातौं राष्ट्रिय खेलकुदको समापन समारोह यही पुस १५ गते धरानमा हुनेछ । राष्ट्रिय खेलकुदको छैटौं संस्करण ५ वर्ष अघि २०६८ साल फागुनमा सुदरपश्चिमको धनगढी र महेन्द्रनगरमा भएको थियो ।
The post सातौैं राष्ट्रिय खेलकुद प्रतियोगिता विराटनगरमा आजदेखि सुरु appeared first on Sajha Post.