काठमाडौं, २३ माघ । टी-२० क्रिकेटमा भारतले रनको हिसाबले अहिलेसम्मकै ठूलो हार बेहोरेको छ। बुधबार वेलिङटनमा भएको पहिलो टी-२० खेलमा घरेलु टिम न्यूजिल्यान्डसमक्ष ८० रनले भारत पराजित भएको हो ।
न्यूजिल्यान्डले दिएको २ सय २० रनको लक्ष्य पछ्याएको भारत ४ बल खेल्न बाँकी छँदा १ सय ३९ रनमै अलआउट हुन पुग्यो । भारतका लागि ओपनिङ ब्याट्सम्यान शिखर धवनले २९, विजय शंकरले २७, महेन्द्रसिंह धोनीले ३९ र हार्दिक पाण्ड्याले २० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। ओपनर तथा कप्तान १ रनमा आउट हुँदा भारत सुरुवातमै दबाबमा आएको थियो।
भारतको इनिङ ध्वस्त पार्ने क्रममा न्युजिल्यान्डका टिम साउथीले ३ विकेट लिए। फर्ग्युसन, सान्टनर र सोधीले २-२ विकेट लिए।
त्यसअघि टस जितेको भारतले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको घरेलु टिम न्यूजिल्यान्डले ६ विकेटको क्षतिमा २ सय १९ रन जोड्यो। न्यूजिल्यान्डका लागि ओपनर टिम सेइफर्टले ८४, कोलिन मुनरो र केन विलियमसनले समान ३४-३४ रनको योगदान गरेका थिए । त्यस्तै रोस टेलरले २३ र स्कट कुग्गेलेजिनले नटआउट २० रन जोडे।
बलिङमा भारतका हार्दिक पाण्ड्याले २ विकेट लिए। भुवनेश्वर कुमार, खलिल अहमेद, क्रुनाल पाण्ड्या र युजभेन्द्र चाहलले १-१ विकेट लिए।
जितसँगै ३ खेलको सिरिजमा न्यूजिल्यान्डले १–० को अग्रता लिएको छ।
The post टी-२० क्रिकेटमा भारतको इतिहासकै ठूलो हार appeared first on Sajha Post.