काठमाडौं, १३ असार । विश्वकप क्रिकेटको ३५औं खेलमा शुक्रबार श्रीलङ्का र दक्षिण अफ्रिकाबीच जारी खेलमा श्रीलंकाले दक्षिण अफ्रिकालाई २०४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
रिभरसाइड मैदानमा टस जितेको दक्षिण अफ्रिकाबाट ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९.३ ओभरमा अलआउट हुँदै २०३ रन जोडेको हो । दक्षिण अफ्रिकाको सामू श्रीलंकाका ब्याट्सम्यानहरु टिक्न सकेनन् ।
श्रीलंकाका लागि कुसल परेरा र अविष्का फर्नाडोले समान ३०-३० रनको पारी खेले । उनीहरुले ६७ रनको साझेदारी गरे । यसअघि अविष्का फर्नान्डो ३० रन बनाएर प्याभेलियन फर्किए । ड्वाएन प्रिटोरियसले उनलाई आउट गरे । प्रिटोरियसले फर्नान्डोलाई प्याभेलियन फर्काउँदै विश्वकपको पहिलो विकेट लिएका हुन् । परेरालाई प्रिटोरियसले नै आउट गरे । धनञ्जय डी सिल्भा २४ रन बनाएर डुमिनीको बलमा आउट भए । जीवन मेन्डिस १८ रन बनाएर खेल्दै गर्दा मोरिसको बलमा आउट भए । थिसारा परेरा ११ रनमा आउट भए । उनलाई फेहलुकवायोले प्याभेलियन पठाइदिए ।
श्रीलंकाका कप्तान दिमुथ करुणारत्ने शून्य रनमा खेलको पहिलो पलमा नै आउट भए । उनलाई रबाडाले आउट गरे । एन्जेलो म्याथ्यूज ११ रन बनाएर प्याभेलियन फर्किए । उनलाई क्रिस मोरिसले बोल्ड गरिदिए । कुसल मेन्डिस २३ रन बनाएर खेलिरहँदा प्रिटोरियसको बलमा आउट भए । प्रिटोरियसलाई योसँगै तेस्रो सफलता मिल्यो ।
आजको खेलमा अफ्रिकी टिमले केही परिवर्तन गरेको छ । डेभिड मिलर र लुंगी एन्गिडीलाई टिम बाहिरै राखेर जेपी डुमिनी र ड्वाएन प्रिटोरियसलाई अन्तिम ११ मा समावेश गरिएको छ ।
त्यस्तै श्रीलंकाले एक परिवर्तन गरेर नुवान प्रदीपको ठाउँमा सुरंगा लकमललाई टिममा समावेश गरेको छ ।
श्रीलंकाको ब्याटिङ लाइन धरापमा पार्नेक्रमा क्रिस मोरिस र ड्वाएन प्रिटोरियसले समान ३/३ विकेट लिए भने कसिगो रवाडाले २ विकेट लिए ।
सेमिफाइनल यात्रालाई कायमै राख्नका लागि आजको खेल श्रीलङ्काको लागि जित्नै पर्ने दवाव छ । पराजित भएमा श्रीलङ्काको सेमिफाइनल पुग्ने सम्भावना कमजोर हुनेछ । ६ खेलमध्ये दुई खेलमा जित दुई खेलमा हार र दुई खेल वर्षाको कारण रद्द भएपछि अङ्क बाँडेको श्रीलङ्काको ६ अङ्क छ ।
अङ्क तालिकाको सातौँ स्थानमा रहेको श्रीलङ्का अन्तिम चारमा पर्दै सेमिफाइनलमा स्थान बनाउनका लागि उसले अबका सबै खेल जित्नुपर्ने हुन्छ । दक्षिण अफ्रिका विश्वकप क्रिकेटबाट बाहिरिसकेको छ । उसले खराब प्रदर्शन गर्दै एक खेलमा मात्रै जित र पाँच खेलमा हार तथा एक खेल पानी परेपछि अङ्क बाँड्दै तीन अङ्क बनाएको छ ।
दक्षिण अफ्रिकाको अबको खेल उसको प्रतिष्ठाका लागि मात्र हुनेछ ।
The post श्रीलंकाद्वारा दक्षिण अफ्रिकालाई २०४ रनको लक्ष्य प्रस्तुत appeared first on Sajha Post.