एजेन्सी, १६ असार । यस पटकको विश्वकप निकै रोमान्चक चरणमा प्रवेश गरिसकेको छ । विशेषगरी शीर्ष ४ मा पर्नका लागि कडा होडबाजी समेत सुरु भइसकेको छ ।
यता हरेक क्षेत्रमा एक अर्कालाई चिर प्रतिद्धन्द्धीका रुपमा हेर्ने भारत र पाकिस्तानबीच हुने क्रिकेट खेलबारे संसारभर चर्चा हुने गर्छ । यही भएर आइसिसी विश्वकपमा भारत र पाकिस्तानबीचको खेलले थप महत्व पाउने गर्छ ।
यस पटकको विश्वकपअन्तर्गतको खेलमा पाकिस्तान भारतसँग हारिसकेको छ । यद्यपि, पाकिस्तान अन्तिम ४ मा पुगोस् र भारतसँग सेमिफाइनलमा जम्काभेट होस् भन्नेहरुको संख्या उल्लेख नै देखिन्छ । त्यसो भने दुबै मुलुकबीच यस पटक सेमिफाइनलमा भिड्ने संभावना कति छ त ?
सन् २०१९ को विश्वकप क्रिकेटमा भारत र पाकिस्तान पुन : आमनेसामने हुने सक्ने संभावनलाई पूर्णरुपमा नकार्न सकिँदैन । अन्तिम ४ लागि कडा प्रतिस्पर्धा भयो र समीकरणमा फेरबदल भयो भने यी दुबै मुलुकबीच पुन : भिडन्त हुन सक्छ ।
आइतबारको खेलमा इङल्याण्डसँग भारत पराजित भएपछि अन्तिम ४ मा पुग्ने टोलीको गणित समेत बदलिएको कतिपयको विश्लेषण छ । त्यसैले यदि आगामी खेलमा समीकरण बदलियो भने भारत र पाकिस्तान सेमिफाइनलमा आमनेसामने हुन सक्छन् ।
यसरी भारत र पाकिस्तान सेमिफाइनलमा भिड्न सक्छन्
अंक तालिकाको शीर्ष स्थानमा रहेको अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरिसकेको छ । यदि भारतले १ खेल जित्यो भने दोस्रो नम्बरमा रहँदै सेमिफाइनल प्रवेश गर्नेछ । अबका खेलमा भारतले श्रीलंका र बंगलादेशसँग भिड्ने छ । यी दुबै खेल जित्यो भने भारत अंक तालिकाको शीर्ष स्थानमा उक्लिने छ ।
साथै इङल्याण्डले न्युजिल्याण्डलाई हरायो भने इङल्याण्ड अंक तालिकामा तेस्रो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गर्न सक्छ । यस्तो अवस्थामा पाकिस्तानले बंगलादेशलाई हरायो भने अंक तालिकाको चौथो नम्बरमा रहँदै पाकिस्तानी टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।
तर पाकिस्तानले भारी रनले बंगलादेशलाई हरायो भने मात्रै सेमिफाइनल प्रवेश गर्ने संभावना बलियो हुनेछ । किनकि न्युजिल्याण्ड इङल्याण्डसँग हारेमा उसको पनि ११ अंक नै हुनेछ ।
यति मात्रै होइन । भारत र पाकिस्तानले सेमिफाइनलमा आमनेसामने हुनका लागि एकातिर दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई हराउन आवश्यक हुन्छ । अर्कोतिर भारतले अबका सबै खेल जित्नुपर्ने हुन्छ । दक्षिण अफ्रिकासँग हारेपछि अष्ट्रेलिया दोस्रो नम्बरमा झर्नेछ ।
विश्वकपमा अंक तालिकाको शीर्ष स्थानमा रहेको टोली र चौथो स्थानमा रहेको टोलीबीच सेमिफाइनल हुने नियम छ ।
यसरी हेर्दा बाँकी सबै खेल जितेर भारत शीर्ष स्थानमा उक्लियो र जितसँगै रनरेट सुधारेर पाकिस्तान चौथी स्थानमा रह्यो भने दुबै टोलीबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुन सक्छ ।
The post विश्वकप क्रिकेट : भारत र पाकिस्तान सेमिफाइनलमा भिड्ने संभावना कति ? appeared first on Sajha Post.