काठमाडौं, १७ असार । एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आज भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
भारत र बंगलादेशबीचको खेल नेपाली समयअनुसार दिउँसो ३: १५ बजे बर्मिङघममा सुरु हुनेछ । अहिलेसम्म एउटा खेलमा मात्रै पराजय व्यहोरेको भारत राम्रो लयमा देखिन्छ । तर आजको खेलमा भारतले बंगलादेशलाई हराउन निकै कठिन हुने धेरैको बुझाइ छ ।
यस पटकको विश्वकपमा बंगलादेशले सोचेभन्दा राम्रो प्रदर्शन गरिरहेको छ । त्यसैले उपाधिको दाबेदार समेत रहेको भारतका लागि बंगलादेशसँगको खेल चुनौतीपूर्ण हुनेछ ।
बंगलादेशी खेलाडीले कुनै पनि टोलीलाई परास्त गर्न सक्छन् । सन् २००७ को विश्वकपमा यही टोलीसँग हारेपछि भारत पहिलो चरणबाट नै बाहिरिएको थियो । यदि भारत बंगलादेशसँग पराजित भयो भने श्रीलंकासँगको खेलमा गर या मरको अवस्थामा हुनेछ ।
त्यसैले आजको खेलमा बंगलादेशी टोलीसँग भारत निकै सतर्क भएर खेल्नपर्ने हुन्छ ।
विशेषगरी बंगलादेशका यी ५ खेलाडीले भारतीय टोलीलाई कुनै पनि बेला हायलकायल पारिदिन सक्छन् :
१. शाकिब अल हसन
शाकिब अल असन बंगलादेशका चर्चिच अल राउण्डर हुन् । यस पटकको विश्वकपमा सबैभन्दा बढी रन बनाउने खेलाडीको सूचीमा हसन तेस्रो नम्बरमा छन् । हसनले २ शतक र ३ अर्धशतकसहित ४७६ रन बनाइसकेका छन् । १० विकेट लिइसकेका हसनको बलिङ समेत उत्कृष्ट देखिन्छ । त्यसैले सन् २०१५ देखि हालसम्म २०२० रन र ६९ विकेट लिएका हसन भारतसामु प्रमुख चुनौतीको रुपमा देखा पर्न सक्छन् ।
२. तमिम इकबाल
तमिम इकबाल बंगलादेशका घातक ब्याट्सम्यान हुन् । उनले यस पटको विश्वकपमा २०५ रन बनाइसकेका छन् । विगत ४ वर्षको अवधिमा २७१६ रन बनाएका इकबाल भारतसामु तगारो बन्न सक्छन् ।
३. मुश्फिकुर रहिम
मुश्फिकुर रहिमले यस पटकको विश्वकपमा ३२७ रन बनाइसकेका छन् । एउटा शतक र २ अर्धशतक पूरा गरिसकेका रहिमको स्ट्राइक रेन ९२. ३७ छ । सन् २०१५ यता २४३४ रन बनाइसकेका रहिम भारतका लागि अर्को चुनौती बन्न सक्छन् ।
४. महमुदुल्लाह
सन् २०१५ यता ६५ खेलबाट १४५९ रन बनाएका महमुदुल्लाह आजको खेलमा भारतको टाउको दुखाइ बन्न सक्छन् । उनले यस पटकको विश्वकपमा १९० रन बनाइसकेका छन् ।
५. मुस्ताफिजुर रहमान
मुस्ताफिजुर रहमान बंगलादेशका चर्चिच बलर हुन् । रहमानले सन् २०१५ यता ५२ खेलमा ९३ विकेट लिइसकेका छन् । औसत इकोनोमी ५. १ रहेका उनले उक्त अवधिमा ३ पटक ४ र ५ विकेट लिइसकेका छन् । यस पटकको विश्वकपमा १० विकेट लिइसकेका रहमान भारतीय ब्याट्सम्यानलाई पानी-पानी पार्ने क्षमता राख्छन् ।
The post बंगलादेशका ५ खेलाडी जसले भारतलाई हायलकायल पार्न सक्छन् appeared first on Sajha Post.