काठमाडौं, २८ चैत । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आगामी बैशाख ४ र ६ गते किर्तिपुरमा हुने नेपाल र नामिबियाबीचको खेलको टिकट धमाधम बिक्री भइरहेको छ । टिकट इसेवामर्फत अनलाइन बिक्री भइरहेको हो ।
दुवै दिनका छुट्टा-छुट्टै टिकट खरिद गर्नुपर्ने छ । करिब १५/१५ हजार टिकट बिक्री गर्ने आयोजकको लक्ष छ । टिकट १५ हजारकाे काेटा नपुगुञ्जेलसम्म वा आगामी शुक्रबारसम्म बिक्रीमा राखिने छ । कोटा पूरा भएमा जुनसुकै बेला बिक्री बन्द हुनसक्ने इसेवाले जनाएको छ ।
टिकटमा खरिदकर्ताको नाम, फोन नम्बर र बारकोड राखिएको छ । म्याचको दिन मैदान आसपासमा इसेबाका अस्थाइ काउण्टर राखिने छ । त्यहाँ टिकटको बारकोड र व्यक्तिगत विवरण रुजु गरेरमत्रै भित्र छिराइने छ । मैदानको गेट बिहान साढे ७ बजे खुल्नेछ ।
टिकट खरिदकर्ताले पालन गर्नुपर्ने सर्तहरु:
१. खरिदकर्ताले टिकटसँगै फोटोसहितको आफ्नो परिचय खुल्ने ‘आइडी कार्ड’ अनिवार्य बोक्नुपर्नेछ ।
२. खरिद गरिसकेको टिकट फिर्ता वा ट्रान्सफर हुने छैन ।
३. खेल हेर्न मैदान प्रवेश गर्ने व्यक्तिले बोत्तल, लाइटरसहितका प्रज्वलनशील पदार्थ, विशाक्त बस्तु, आतिशबाजी, हतियार, मोटरसाइकल हेलमेट, ब्यागजस्ता सामाग्री लैजान पाइने छैन । टिकटबाला बाहेक अन्य व्यक्तिलाई मैदानभित्र प्रवेश गर्न दिइने छैन ।
४. बारकोडसहितको टिकट च्यातिएको, टुटफुट भएको वा कुनै किसिमको क्षति पुगेको पाइएमा स्वीकार गरिने छैन ।
कसरी किन्ने टिकट ?
इसेव प्रयोगकर्ताले https://cricket.esewa.com.np मा गएर सिधै टिकट किन्न सक्नेछन् । इसेवा अकाउन्ट नभएकाहरुले भने नजिकैको साइबर, स्टेसनरी, कम्युनिकेशनमा रहेका इसेवा जोन वा इसेवा पोइन्टमा गई अनलाइन टिकट खरिद गर्न सक्नेछन् । उपत्यकामामात्र करिब ५ हजार जोन र देशभर १७ हजारभन्दा धेरै पोइन्ट रहेको इसेवाले जनाएको छ । इसेवाको काउन्टरबारे जानकारी यहाँबाट लिन सकिन्छ ।
प्रतिटिकट १०० रुपैयाँ तिरिसकेपछि तपाईंले एउटा प्रिन्ट आउट पाउनुहुन्छ । त्यसलाई सुरक्षित राख्नुहोस् । खेल हुने दिन सोही टिकट देखाएर भित्र प्रवेश गर्न सक्नुहुनेछ ।
कस्तो हो प्रतियोगिता ?
यो आईसीसीका एसोसिएट टोलीमध्ये सबैभन्दा माथिल्लो डिभिजनमा रहेका ८ टोलीले खेल्ने गरेको प्रतियोगिता हो । आईसीसीले ‘डिभिजन टू’सम्मका टिमका लागि ‘लिग डिभिजन’ प्रतियोगिता खेलाउने गर्छ । त्यसभन्दा माथिका अर्थात शीर्ष ८ एसोसिएट टिमले ‘आइसीसी लिग च्याम्पियनसिप’ खेल्छन् ।
यस वर्षबाट आइससीले शीर्ष दुई एसोसिएट टिमलाई सिधै विश्वकप छनोट खेल्ने मौका दियो । जसबाट अफगानिस्तान र आयरल्याण्ड लाभान्वित भए । अफगानिस्तान र आयरल्याण्डले यो प्रतियोगिता खेलि राख्नु नपर्ने भएपछि प्रतियोगिताका लागि शीर्ष डिभिजनमा ६ वटामात्रै टिम बाँकी रहे । यस्तो अवस्थामा आठवटै टिम पु-याउनका लागि आईसीसीले ‘डिभिजन टू’मा रहेका नेपाल र केन्यालाई मौका दिएको हो ।
अघिल्लो पटक न्युजिल्याण्डमा भएको विश्वकप छनोटमा शीर्ष ८ भित्र पनि पर्न नसकेपछि नेपाल डिभिजन टूमा घटुवा भएको थियो ।
त्यसपछि नेपालले ‘डिभजिन टू’ खेल्यो । सानदार प्रदर्शनका बावजुद् पनि नेदरल्याण्डसँग रनरेटमा पछि परेपछि नेपाल बढुवा हुन सकेन । त्यसपछि तेस्रो स्थानका लागि भएको खेलमा केन्यासँग पनि हार्दा चौंथो स्थानमा खुम्चियो ।
यति हुँदाहुँदै पनि यो प्रतियोगिता खेल्न पाउनु नेपालका लागि ठूलो अवसर हो । नेपालले पहिलो पटक यस प्रतियोगिता खेलिरहेको छ । प्रतियोगिता सन २०१६ र २०१७ को बीचमा हुनेछ । प्रतियोगितामा सहभागी आठवटै टिमले एकअर्कासँग दुई-दुईवटा खेल खेल्नेछन् ।
यसअघि नेपालले स्कटल्याण्ड र पिएनजीसँग खेलिसकेको छ । हालसम्म अंक जोड्न नसकेको नेपाल सबैभन्दा पुच्छारमा छ । अब नेपालले ५ वटा टोलीसँग १० म्याच खेल्न बाँकी छ । खेल्न बाँकी रहेका टोलीहरु नामिबिया, युएई, हङकङ, केन्या र नेदरल्याण्ड हुन् ।
दुई टिमसँग गरी ४ खेल हारिसकेको नेपालका लागि नामिबियाविरुद्ध जित्नै पर्ने दवाव छ । यो दुवै खेल जितेमा शीर्ष ४ मा पर्दै विश्वकप छनोट खेल्ने सम्भावना जिवित रहने छ । हारले नेपाललाई शीर्ष ४ मा पर्न निकै कठिन हुनेछ ।
संयमित भएर हेर्नुस्
एसोसिएट टिमहरुमध्ये सबैभन्दा राम्रो फ्यानबेस भएको टोली हो नेपाल । नेपालले घरेलु मैदानमा खेल्ने खेलमा दर्शकहरुको बाढी नै आउने गर्छ । यसरी खेल हेर्न पुगेका दर्शकहरुले संयम गुमाएको खण्डमा नेपालले आगामी समयमा यस्ता प्रतियोगिता आयोजना गर्ने अवसर गुमाउने छ । यदि दर्शक संयमित हुने हो र नेपालले भौतिक पूर्वाधार सुधार गर्ने हो भने आइसीसीका धेरै प्रतियोगिताहरु नेपालमा हुनेछन् ।
नेपालको क्राउड देखेर आईसीसी जहिले पनि प्रभावित हुँदै आएको छ । तर, दर्शकहरुको उच्छृङ्खलता कहिले काहीँ बाधक बन्ने गरेको छ । यदि तपाईं पनि मैदानमा गएर खेल हेर्दै हुनुहुन्छ भने आफू पनि संयमित हुनुस् र साथीहरुलाई पनि संयमित हुन प्रोत्साहित गर्नुस् ।
हार-जित खेलका दुई पाटो हुन् । नतिजा जस्तोसुकै भएपनि नेपाली टोलीलाई संयमित भएर समर्थन गर्नुहोला ।
The post यस्तो छ नेपाल र नामिबियाबीचको खेलको टिकट, सर्तहरु र प्रतियोगिताको नालिबेली appeared first on Sajha Post.