दिल्ली (एजेन्सी), २९ बैशाख । महत्वपूर्ण खेलमा पराजित भएसँगै राइजिङ पूणे सनराइजर्स दशौं आइपिएलको संकटपूर्ण मोडमा पुगेको छ । गएराति सम्पन्न खेलमा दिल्ली डेयरडेभिल्सले ७ रनले पूणेलाई पराजित गरेसँगै पूणे गम्भीर मोडमा पुगेको हो । यससँगै स्टिभन स्मिथको टोली आइपिएलको प्लेअफमा प्रवेश गर्ने सम्भावनामा गम्भीर धक्का लागेको छ ।
किङ इलेभेन पञ्जावलाई पराजित गरेर मात्रै पूणेले प्लेअफ प्रवेश गर्न सक्नेछ । दिल्लीले पहिलो इनिङमा ८ विकेटको क्षतिमा बनाएको १ सय ६८ रनको लक्ष्यलाई पछ्याएको पूणेले ७ विकेटको क्षतिमा १ सय ६१ रन मात्र बनाउन सक्यो ।
४५ बलमा ३ छक्का र ५ चौको सहयोगले ६० रन बनाएर तिवारीले टिमका लागि महत्वपूर्ण योगदान गरे । यसैगरी कप्तान स्मिथले ३८ र बेन स्टोक्सले ३३ रन बनाए । महेन्द्रसिंह धोनी ५ रनमा मोहम्मद सामीको सिधा थ्रोमा रनआउट हुँदै पवेलियन फर्किए ।
दिल्लीका लागि कप्तान जाहिर खानले अजिङ्क रहाणेलाई पहिलो बलमा शिकार बनाउँदै आइपिएलमा आफ्नो सय विकेट पुरा गरे । उनी सय विकेट पूरा गर्ने छैटौं बलर बने। भारतीय क्रिकेटका दुई अनुभवी बलर जाहिर र मोहम्मद सामीले प्रशसालायक प्रदर्शन गर्दै २–२ विकेट बाँडे ।
उता पहिलो ब्याटिङ गरेको दिल्लीका लागि करुण नायर र ऋषभ पन्तको जोडीले तेस्रो विकेटका लागि २८ बलमा ७४ रनको साझेदारी गर्दै घरेलु टोलीलाई सम्मानजनक योगफलतर्फ डोर्याउन प्रयास गरे ।
दिल्लीका लागि नायरले ४५ बलमा ९ चौकाको सहयोगले ६८ रन तथा पन्तले २ छक्का र ४ चौकाको सहयोगले २२ बलमा ३६ रनको योगफल जोडे । यी दुवैले सञ्जु सामसन (२) र श्रेयष ऐयर (३) छिटो आउट भएपछिको अप्ठेरो स्थितिमा स्थिति सम्हालेका थिए । म्यान अफ दि म्याच करुण नायर घोषित भए।
यसैगरी मार्लोन सामुअल्सले २७, पाट कुमिन्सले ११ र अमिा पुग्ने मत मिश्राले अविजित १३ रनको योगदान दिन सके । निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ६८ रन बनाएको दिल्लीसँग अहिले १३ खेलमा १२ अंक जोड्दै छैटौं स्थानमा यथावत छ । पूणेको १३ खेलमा १६ अंक छ ।
The post दिल्लीसँग ७ रनले पराजय भोगेको पूणेको प्लेअफ प्रवेश लम्बियो appeared first on Sajha Post.