काठमाडौं, ४ वैशाख । नामिबियाले नेपाल सामू १ सय ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । विश्व क्रिकेट लिग च्याम्पिनशिप अन्तरगत नेपाल र नामिबियाबीच किर्तिपुरको त्रिवि मैदानमा सुरु भएको खेलमा नामिबियाले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ९५ रन जोडेको हो ।
टस जितेर ब्याटिङ रोजेको नामिबियाले आक्रामक सुरुवात गरेको थियो । लगत्तै नेपालका लागि सोमपाल कामीले लगातार दुई विकेट लिएपछि नेपाल आफ्नो लयमा फर्कियो । नामिबियाका ओपनरले आक्रमक सुरुवात गरेका थिए। पहिलो ओभरमा १५ रन दिए पनि दोस्रो ओभरमा सोमपाल कामीले ओपनर स्टेफन ब्राडलाई आउट गर्दै खेललाई नेपालको पक्षमा फर्काए । ठूलो स्कोरको लक्ष्यतर्फ अगाडि बढिरहेको नामिबियाका ब्याट्स्म्यानलाई मध्यक्रमसम्म पुग्दा नेपाली बलरले नियन्त्रणमा लिए । मध्यक्रमसम्म पुग्दा पाँच जना ब्याट्सम्यानले २० रनभन्दा माथिको स्कोर गरेपछि नामिबियाले सापेक्षित राम्रै स्कोर गर्न सफल भयो ।
नेपालका लागि कप्तान पारस खड्काले फुल स्पेलमा १० ओभर बलिङ गरेर ३ ओभर मेडन राख्दै १ विकेट लिएर ३४ रन दिए । सोमपाल कामीले ८ ओभर बलिङ गर्दै ४७ रन दिए र तीन विकेट लिए ।
सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै ३७ रन दिएर १ विकेट लिए जसमा उनले २ मेडन ओभर बलिङ गरेका थिए । कुनै विकेट नलिए पनि शक्ति गौचनले १० ओभरमा २८ रन दिएर २ मेडन ओभर राखे । यसैगरी बसन्त रेग्मीले १० ओभर बलिङ गर्दै ३ विकेट लिएर ४० रन दिए भने शरद भेषावकरले २ ओभर बलिङ गरे ।
करिब १५ हजार समर्थकको हौसला लिएर घरेलु मैदानमा बलियो प्रतिष्पर्धी नामिबियासँग भिडिरहेको नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।
The post नामिबियाद्वारा नेपालसामू १९६ रनको लक्ष्य प्रस्तुत (लाइभ हेर्नुहोस्) appeared first on Sajha Post.